Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो, ३ महिनामा ७४ खर्ब ८२ अर्ब

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, १६ : ५४ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो, ३ महिनामा ७४ खर्ब ८२ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूका निक्षेप र कर्जा प्रवाह दुबैमा सकारात्मक वृद्धि भएको छ।

समीक्षा अवधिमा निक्षेप ३.० प्रतिशत, अर्थात् २ खर्ब १८ अर्ब ७२ करोडले बढेर कुल ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप वृद्धि २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) मात्र थियो। वार्षिक आधारमा हेर्दा २०८२ असोज मसान्तमा कुल निक्षेप १३.० प्रतिशतले बढेको देखिन्छ।

कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यिनको हिस्सा क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत थियो। संस्थागत निक्षेपको हिस्सा ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३५.८ प्रतिशत थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि बढेको छ। समीक्षा अवधिमा निजी क्षेत्रका लागि कर्जा १.५ प्रतिशत, अर्थात् ८२ अर्ब ९३ करोडले बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा वृद्धि २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड) थियो। वार्षिक आधारमा २०८२ असोज मसान्तसम्म निजी क्षेत्रलाई प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा अनुसार, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १५.० प्रतिशत, घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत थिए।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा लगानीमा रहेको कर्जा अनुसार निर्माण क्षेत्रमा २.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.४ प्रतिशत, उपभोग्य क्षेत्रमा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा १.४ प्रतिशतले वृद्धि भएको छ, जबकि सेवा उद्योग क्षेत्रमा ०.३ प्रतिशतले घटेको छ। कर्जा प्रकार अनुसार, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ। त्यस्तै, ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको