वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १० वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । १० वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१६ प्रतिशत विन्दु घटाएका हुन्। कार्तिक महिनामा ५.२० प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको औषत ब्याजदर, मंसिरका लागि घटेर ५.०४ प्रतिशत विन्दुमा झरेको छ । मंसिरको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ५ प्रतिशत छ। मंसिरको लागि अधिकतम ग्लोबल आइएमइले ६ र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याजदर तोकेका छन्।
त्यस्तै राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले ५.५ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छे, एनएमबी, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकको ब्याजदर स्थिर छ । पछिल्लो समयमा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरु चलयामान हुन सकेका छैनन् । बैंकहरुमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ भने कर्जा प्रवाह न्यून रहेको छ । सरकारको नीतिगत अवरोधका कारण निजी क्षेत्र चलयामान हुन नसक्दा कर्जा प्रवाह खुम्चिएको हो । निजी क्षेत्रले चालु पुँजी कर्जा नीति खारेज गर्न माग समेत गरेका छन् । ब्याजदर घट्दै जाँदा बेसरेट पनि घट्दै जानेछ , जसले गर्दा कर्जाको ब्याजदर थप घटाउने निश्चित रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस