Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरी र स्काउट बिच समझदारी पत्रमा हस्ताक्षर

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १४ : १९ मा प्रकाशित

नेपाल प्रहरी र स्काउट बिच समझदारी पत्रमा हस्ताक्षर

अर्थ संसार, काठमाडौं – नेपाल प्रहरी र नेपाल स्काउट बिच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ । लैनचौर स्थित नेपाल स्काउट कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत हस्ताक्षर भएको हो । 

यसैगरी, कार्यक्रममा नेपाल प्रहरी र नेपाल स्काउट बीच केन्द्रीय तहदेखि जिल्ला, पालिका स्तरसम्म ‘समुदाय–प्रहरी साझेदारी’ को अवधारणा अनुरूप साझेदारी र सहकार्य हुने बताइएको छ । नेपाल स्काउटका जिल्ला, पालिका स्तरका संरचनाहरू समुदाय–प्रहरी साझेदारीका जिल्ला र पालिका समितिका सदस्यको रूपमा रहने समझदारी पत्रमा उल्लेख छ । त्यसैगरी अपराध रोकथाम, सुरक्षा सचेतना अभिवृद्धिका सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रमहरू संयुक्त रूपमा कार्यन्वयन गरिने समेत उल्लेख छ ।

यस्तै, समझदारी पत्रमा हस्ताक्षर पश्चात आफ्नो धारणा राख्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले यो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको हुँदा स्काउटबाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न पनि नेपाल स्काउट तयार रहेको र स्काउट सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्नेमा जोड दिएका छन् । भण्डारीले आगामी दिनमा संचालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताएका छन् । साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।

त्यसैगरी, कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अबका दिनमा समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताए । उनले स्काउटसँगको सहकार्यमा केन्द्रदेखी स्थानीय तहसम्म सहकार्य गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको हुँदा सबैको सक्रिय सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

त्यस्तै, शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा नेपाल प्रहरी र नेपाल स्काउटको साझा सहभागिता, समन्वय, र सहकार्यलाई अझ बढवा दिने उदेश्यकासाथ शुरूवात गरिएको पनि प्रहरी प्रमुख खनालले बताएका छन् ।

यसैगरी, कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कार्यक्रमको अवधारणा र उदेश्यको बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, लगायत प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका केन्द्रिय पदाधिकारी, पूर्व आयुक्त तथा प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक राजिब खत्रीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको