अर्थ संसार, काठमाडौं–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा उहाँले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको बताउनुभयो ।
“सन् २०२० जनवरी ९ मा चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ”, मन्त्री ढकालले भन्नुभयो, “नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन ।”
नेपालमा उक्त भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको मन्त्रिस्तरीयको बैठक दुई पटक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिनुभयो ।
नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ३६२ को मृत्यु भएको छ । मृत्यु हुनेमा ३६१ चीनमा र चीनबाटै गएका एक नागरिकको फिलिपिन्समा मृत्यु भएको हो ।
मन्त्री ढकालले सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाका लागि रुघाखोकी लागेको व्यक्तिसँग नजिक नजाने र साबुनपानीले हात धुनेबारेमा जानकारी दिँदै सो भाइरस चिसामा बढी आक्रमण र गर्मीमा सुषुप्त बस्ने देखिएको जानकारी दिनुभयो ।
“सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल ग¥यो”, मन्त्री ढकालले भन्नुभयो, “अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म सङ्क्रमित हुनसक्छ ।” उहाँले बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिनुभयो ।
चीनबाट नेपालीलाई ल्याइने
सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको छ । मन्त्री ढकालका अनुसार कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताउनुभयो ।
“परीक्षण गर्दा पोजेटिभ देखिएमा चीन सरकारले नेपाल पठाउँदैन”, मन्त्री ढकालले भन्नुभयो, “नेपाल आउन चाहने १८० ले चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन् ।” मन्त्री ढकालका अनुसार नेपालमा ल्याएपछि १४ दिनसम्म परीक्षणमा राखिन्छ । “भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिन्छौँ”, उहाँले भन्नुभयो, “सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पताल र ४३ शय्याको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा हेल्थ डेक्सको व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर हामीले काम गरेका छौँ ।”
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा रहने गरी ३०० शय्यासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।
बैठकमा दिव्यमणि राजभण्डारी, मोहम्मद इस्तियाक राई, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कृष्णभक्त पोखरेल, डिला सङ्ग्रौलासहित १४ सांसदले कोरोना भाइरस रोकथामका लागि कार्यक्रम ल्याउनुपर्ने र चीनबाट आउन चाहने नेपाली नागरिकलाई जतिसक्दो छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसदको जवाफ दिँदै मन्त्री ढकालले नेपाल फर्कन चाहनेले फारम भरिरहनुभएको र आउन चाहने सबैलाई सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा ल्याएका व्यक्तिलाई परीक्षणका लागि हेल्थडेक्स राखेको र डाक्टरको नेतृत्वमा २४ घण्टाकै सेवा तथा अस्पतालसम्म लानका लागि एम्बुलेन्स तयारी छ । जुनसुकै मुलुकबाट आएका व्यक्तिको परीक्षण गर्ने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस