Like us!
Follow us!
Connect us!
Watch us!

विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह भन्दै काँग्रेसले चल्नै दिएन प्रतिनिधिसभा( भिडियो)

मिलन खड्का

शुक्रबार, २४ माघ २०७६, १५ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।

बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभयो । 

सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताउनुभयो ।

उहाँले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाउनुभयो ।  

काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सांसद विश्वकर्माको भनाइपछि पनि काँग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गर्नुभयो । उहाँले बैठक अवरोध गरे सो विषयको समाधान नहुने भन्दै सदनलाई जीवन्त र प्रभावकारी बनाउनका लागि बैठकमा छलफल सञ्चालन गर्नुपर्ने आग्रह गर्नुभएको थियो । 

सभामुखको उक्त आग्रहपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगन गरेको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । 

सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ । 

प्रतिपक्ष दलले उक्त प्रकरणमा निर्णयमा प्रत्यक्षरुपमा संलग्नलाई उन्मुक्ति दिएर संलग्न नै नभएका व्यक्तिलाई छानी छानी राजनीतिक आस्थाका आधारमा अभियोग लगाएको आरोप लगाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको