Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेसले पाएन बोल्ने माइक,सभामुख भन्छन अदालतको विषय यहाँबाट निरुपण हुँदैन (भिडियो)

मिलन खड्का

आइतबार, २६ माघ २०७६, १६ : ०७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । 

सभामुखले संवैधानिक व्यवस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले संसद्बाट निरुपण नहुने स्पष्ट पार्नुभएको थियो । उहाँले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो । 

काँग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा काँगेस सांसद दिलेन्द्रप्रसाद बडूले ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो भन्दै आपत्ति जनाउनुभएको थियो । 

ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले सदनको कामकारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारवाहीलाई अगाडि बढाउन माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको