Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

सोमबार, १९ फागुन २०७६, १४ : ४४ मा प्रकाशित

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

अर्थ संसार, काठमाण्डौं - चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ । यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेइ प्रान्तका रहेका छन् । 

त्यस्तै, गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ ।  त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।

त्सैगरी, बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलाउनु भएको छ । 

त्यस्तै, चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको