अर्थ संसार, काठमाण्डौं - कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।
त्यस्तै, नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन ।
त्यसैगरी, सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।
बुधबार विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो । कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस