Like us!
Follow us!
Connect us!
Watch us!

कलंकी-कोटेश्वर सडक खण्डमा नयाँ ट्राफिक नियम लागू , पालना नगरे एक हजार पाँचसय जरिवाना

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १४ : ४१ मा प्रकाशित

कलंकी-कोटेश्वर सडक खण्डमा नयाँ ट्राफिक नियम लागू , पालना नगरे  एक हजार पाँचसय जरिवाना

अर्थ संसार, काठमाडौं–काठमाडौं उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन कलंकी-कोटेश्वर सडकखण्डमा ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। आइतबारबाट यो सडक खण्डमा यात्रुबाहक तथा मालबहाक सवारीसाधनलाई बायाँ सर्भिस लेनबाट र तीव्र गतिमा हुइकिने निजी तथा साना सवारीलाई दाहिने लेनबाट गुडाउनु पर्ने नियम लागू गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले संयुक्त रूपमा रिवन काटेर नयाँ नियमको सुरुवात गरेका हुन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रममा प्रहरी अधिकृत, यातायात व्यवसायी,हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरेलगायतको उपस्थित थियो।ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीकाे प्रस्तुति रहेकाे थियाे। यो सडकखण्डमा दुर्घटना धेरै हुने र लेन अनुशासनको समेत पालना नहुने देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियम लागू गरेको हो।

नागरिकलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकमा लेन प्रयोगसम्बन्धी प्ले कार्डसहित ट्राफिक प्रहरीले जानकारी समेत गराइ रहेका छन्।

नियम पालना नगर्नेलाई ट्राफिक प्रहरीले एक हजार पाँचसयसम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी भएमा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले जानकारी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको