Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्क सस्ताे मुल्यमा

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १३ : ३९ मा प्रकाशित

सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्क सस्ताे मुल्यमा

अर्थ संसार, काठमाडौं –सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ।

यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहितलाई बोलाएर बरामद मास्क सुपथ मूल्यमा सर्वसाधारणसम्म पुर्‍याउन बैठक गरिएको छ।

महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) प्रमाणका रुपमा राखेर बजारमा कुनै एउटा विश्वासिलो संस्थामार्फत बिक्री वितरणका लागि पठाउने तयारी भइरहेको बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहसचिव जनकराज दाहाल बरामद मास्क बजारमा परल मूल्यमा बिक्री वितरणका लागि पठाउन कानूनी सल्लाह भइरहेको बताउछन् । उनका अनुसार यस बिषयमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्तासँग छलफल भइरहेको हो।

“हामीले १० लाखभन्दा बढी मास्क बरामद गरेका छौं,” दाहालले भने “यी मास्क बजारमा पठाउन कानूनी अड्चन छ, कसरी फुकाउने छलफलमा छौं।” सहसचिव दाहालका अनुसार बरामद मास्क बजारमा पठाउनु अति आवश्यक रहेको ठहरसहित छलफलको तयारी भइरहेको छ।

जिल्ला सहन्यायाधिवक्ता नुमराज खनाल अनुसार मुद्दा हेर्ने अधिकारी (प्रजिअ) ले बरामद मास्कका धनीमार्फत अत्यावश्यक वस्तुको सूचीमा राखेर लिलामका लागि निवेदन दिन लगाउने वा लिलामका लागि आदेश दिने अधिकार राख्ने बताउछन्।

“फैसलामा दोषी ठहरेमा बरामद मास्कको लिलाम मूल्य जफत हुनेछ,” खनालले भने “ कसुर नठहरेमा धरौटी खातामा रहेको रकम आरोपीले पाउनेछन् ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको