अर्थ संसार, काठमाडौं - अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २ सय १० जनालाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।
स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । “पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्छ”, डिआइजी पोखरेलले बताए ।
पोखरेलले थपे, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।”
विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस