Like us!
Follow us!
Connect us!
Watch us!

६५ वर्षीय वृद्धाले जितिन कोरोनालाई, भन्छिन् -'औषधिभन्दा ठूलो आत्मबल रहेछ'

अर्थ संसार

शनिबार, ०६ बैशाख २०७७, २२ : ०९ मा प्रकाशित

६५ वर्षीय वृद्धाले जितिन कोरोनालाई, भन्छिन् -'औषधिभन्दा ठूलो आत्मबल रहेछ'

अर्थ संसार, गलकोट-कोरोना सङ्क्रमणबाट निको हुनुभएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाई । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने तयारीमा रहनुभएकी वृद्धाले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको बताई। 

“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भन्नुभयो, “औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।” नेपालमा छैटाँै कोरोना सङ्क्रमितका रुपमा रहेकी मनकुमारी कोरोना जित्ने तेस्रो व्यक्तिका रुपमा रहेकी छिन् । उनले कोरोना लाग्दैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाएकी छिन् । उनले तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा कोरोनाबाट बच्न सकिने अनुभव सुनाई । 

“दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा कोरोनलाई जितेर घर फर्कने भएकी छु”, उनले भनिन् ।  मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएका छिन् । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरिन ।  आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउन पर्ने बताईन ।  
     
    धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइराख्नुभएकी उनको भर्ना भएको १५औँ दिन बिहीबार तेस्रो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनःभोलिपल्ट शुक्रबार पनि स्बाब परीक्षणका लागि पठाइएकामा समेत रिपोर्ट नेगेटिभ आएका कारण बिरामीलाई कोरोना निको भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए । 

    पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् । वृद्धामा शुरुकै दिनदेखि कोरोनाको लक्षण भने देखिएको थिएन । अस्पतालले कोरोना निको भएकी महिलालाई घर पठाउने तयारीमा रहेको बताएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी वृद्धालाई चैत २० गते पुष्टि भएको थियो । 

    दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई अस्पतालले घर पठाउने तयारी गरेको छ । घर पठाए पनि उहाँलाई घरमै क्वारेन्टाइनमा बस्नका लागि सल्लाह प्रदान गरिएको डा पोखरेलले बताए  । “उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ”, डा  पोखरेलले भन्नुभयो, “हामीले उहाँको स्वास्थ्य अवस्थाबारे घरमै रहेका बेलामा समेत बुझ्नेछौँ ।”

    उहाँसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाब परीक्षणसमेत पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको