अर्थ संसार, काठमाडौं - लकडाउनले सारा विश्व नै त्रसित बनिरहेकाे अवस्थामा केहि व्यापारीहरू भने यस अवस्थामा पनि ठगी गरिरहेका छन् । थुप्रै व्यापारीहरूले मूल्यभन्दा बढीमा सामान बेच्ने गरेकाे पाइएकाे छ ।
आज पनि जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार रूपैयाँ जरिवाना गरेको छ ।
चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिएका छन् ।
उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि आज समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताए ।
समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु ३६ हजार जरिवाना गरेको थियो ।
सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताएका छन् । समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस