Like us!
Follow us!
Connect us!
Watch us!

चुनौतीपूर्ण अर्थतन्त्र, अटुट विश्वास: अर्थसंसारको १३ औँ पाइला

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, ०६ : ५३ मा प्रकाशित

चुनौतीपूर्ण अर्थतन्त्र, अटुट विश्वास: अर्थसंसारको १३ औँ पाइला

नेपाली सञ्चार जगत्मा उत्तरदायी र व्यावसायिक आर्थिक पत्रकारिताको जग बसाल्ने यात्रामा अर्थसंसार डटकमले आजदेखि आफ्नो १२ वर्षको गौरवमय यात्रा पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । कुसुम मिडिया क्रियसनको यस मुख्य डिजिटल प्रकाशनलाई आजको उचाइसम्म पुर्‍याउन निरन्तर साथ दिनुहुने हाम्रा आदरणीय पाठक, दर्शक, श्रोता, लेखक, विज्ञापनदाता, नियमनकारी निकाय तथा सहकर्र्मी साथीहरूमा म हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दर्छौ । 

१२ बर्षअघि नेपालको समग्र पत्रकारितामा आर्थिक क्षेत्रलाई केवल एउटा सामान्य बिटका रूपमा मात्र हेरिन्थ्यो । त्यस्तो पृष्ठभूमिमा विशुद्ध आर्थिक र व्यावसायिक समाचार, विचार र विश्लेषणलाई मात्र केन्द्रमा राखेर अनलाइन सञ्चार माध्यम सञ्चालन गर्ने हिम्मत गर्नु आफैँमा एउटा ठुलो साहसिक कदम थियो तर, अर्थसंसारले कर्पोरेट, सेयर बजार, बैंकिङ र उद्यमशीलताको आवाज बन्ने जुन जोखिमपूर्ण बाटो रोज्यो, आज त्यही बाटो नेपाली आर्थिक पत्रकारिताको मूलधार बनेको छ । बजारमा दर्जनौँ आर्थिक अनलाइनहरूको उपस्थिति हुनु त्यसैको सुखद परिणाम हो । तर, यो स्वस्थ प्रतिस्पर्धाका बीच पनि अर्थसंसारले पाठकमाझ आर्जन गरेको विश्वसनीयता र बलियो स्थान हाम्रा तमाम प्रबुद्ध पाठकवर्गलाई थाहा नै छ ।

हाम्रो स्थापना मुलुकको अर्थतन्त्रलाई रचनात्मक टेवा पुर्‍याउने र निजी क्षेत्रको मनोबल उच्च राख्ने साझा सङ्कल्पका साथ भएको हो । विगत केही वर्षदेखि नेपाली अर्थतन्त्रले निकै जटिल र चुनौतीपूर्ण कालखण्डको सामना गरिरहेको छ । बजारमा छाएको शिथिलता र आर्थिक मन्दीको बाछिटाले अझै पनि उद्योग, व्यवसाय र आम लगानीकर्तालाई त्रसित बनाइरहेकै छ । यस्तो चरम सङ्कट र नीतिगत अस्पष्टताका बीच अर्थसंसारले सधैँ निजी क्षेत्र र नीति निर्माताहरूबीच एउटा भरपर्दो समन्वयकारी पुलको भूमिका निर्वाह गर्दै आएको छ । उद्यमी र व्यवसायीका समस्यालाई राज्यको ढोकासम्म पुर्‍याउने माध्यम हामी नै हौँ । हामीले नियामक निकायका हरेक सकारात्मक र देशको हित अनुकूलका नीतिको खुला हृदयले स्वागत गर्‍यौँ भने आम लगानीकर्ता र बजारलाई धराशायी बनाउने ुलगानीकर्तामाराु नीतिको सधैँ सशक्त भण्डाफोर र खबरदारी गरिरह्यौँ । व्यावसायिक निष्ठा र सत्यको पक्षमा उभिँदा आउने हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न हाम्रा पाठकहरूको अटुट विश्वास नै हाम्रो मुख्य हतियार बन्दै आएको छ ।

समय गतिशील छ, र प्रविधिको विकाससँगै आम पाठकको सूचना उपभोग गर्ने शैली पनि बदलिएको छ । यो डिजिटल युगमा हामी केवल एउटा वेब पोर्टलमा मात्र सीमित छैनौँ । युट्युब, टिकटक लगायतका नवीनतम डिजिटल र भिजुअल माध्यमहरू प्रयोग गरेर हामीले आर्थिक सूचना र जटिल वित्तीय विश्लेषणलाई आम नागरिकले बुझ्ने गरी सरल भाषामा पस्कँदै आएका छौँ । यो १३ औँ वर्षको प्रवेशसँगै अर्थसंसारले आफूलाई अझ बढी खोजमूलक, अनुसन्धानात्मक, बहुआयामिक र तथ्यपरक पत्रकारितामा केन्द्रित गर्ने प्रण गर्दछ । डिजिटल प्लेटफर्महरूको अधिकतम सदुपयोग गर्दै सूचनालाई अझ पठनीय र दृश्यलाई अझ बढी प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ ।

हाम्रो यो १२ वर्षको यात्राका वास्तविक ऊर्जा र प्रेरणाका स्रोत तपाईं पाठकहरू नै हुनुहुन्छ । हामी हाम्रा कमजोरीहरूमा रचनात्मक सुझाव र हाम्रा प्रयासहरूमा निरन्तर समर्थनको अपेक्षा गर्दछौँ । आगामी दिनमा पनि यहाँहरूको न्यानो साथ, सहकार्य र विश्वास अटल रहनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको