Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट ११७ जना नेपालीको मृत्यु, कति छन् संक्रमित ?

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १० : ३६ मा प्रकाशित

कोरोनाबाट ११७ जना नेपालीको मृत्यु, कति छन् संक्रमित ?

अर्थ संसार, काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीकाे संख्या ११७ जना पुगेकाे छ ।

यो साता मात्र थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएकाे छ । 

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ ।

त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

यसैगरी, मृत्यु हुनेमा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको जनाइएको छ । स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन् । बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन ।

संयोजक डा सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ ।

संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिएका छन् । अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चार-चार, साइप्रस र न्युजिल्याण्डमा तीन-तीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र रुसमा दुई-दुई तथा म्यानमा, रोमानिया र फ्रान्समा एक नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको