Like us!
Follow us!
Connect us!
Watch us!

रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ - गृहमन्त्री

अर्थ संसार

मंगलबार, २० जेठ २०७७, २० : ०७ मा प्रकाशित

रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ - गृहमन्त्री

अर्थ संसार, काठमाडौं-गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

 उहाँले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताउनुभयो । “सङ्घ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ”, उहाँले भन्नुभयो, “नेपाल प्रहरीका साथै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पनि अनुसन्धान भइरहेको छ ।” छानबिन अन्तिम चरणमा पुगेको पनि उहाँको भनाइ थियो ।

 गृहमन्त्रीले छानबिन समितिको प्रतिवेदनपछि दोषीमाथि कडा कारबाही हुने र पीडितलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिइने बताउनुभयो । “घटनाको ढाकछोप र दोषी उम्कन सक्ने अवस्था सरकारबाट हुँदैन”, उहाँले भन्नुभयो । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउनको घोषणा गरेको अवस्थामा घटना भएको भन्दै उहाँले गृह प्रशासनको कुनै कमजोरी पाइए कारबाही हुने बताउनुभयो ।

 “उक्त समयमा प्रहरी टुलुटुलु हेरेर बसेको होइन, कमजोरी गर्ने प्रहरीमाथि पनि कारबाही हुन्छ, छानविन समितिले अध्ययन गर्छ”, उहाँले भन्नुभयो । कानूनको कार्यान्वयन गर्न थप कडाइ गर्ने उहाँको भनाइ थियो । गृहमन्त्रीले विगतको तुलनामा जातीय विभेदका घटना न्यूनीकरण गर्न सफल भएकोसमेत बताउनुभयो ।

 महान्यायाधिवक्ता अग्नि खरेलले अनुसन्धानमा महान्यायाधिवक्ताको कार्यालयको पूर्ण सहयोग हुने उल्लेख गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो । “कसैको पनि भनसुन हुँदैन, तपाईंहरु ढुक्क हुनुस्, अनुसन्धान तथा अभियोजनमा कुनै शङ्का नगर्नुहोस्, यो मुद्दालाई बिग्रन दिइँदैन”, उहाँले भन्नुभयो ।
 
 गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले त्यसबारेमा अनुसन्धान गरिरहेको बताउनुभयो  । सो सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले घटनाको सत्यतथ्य अनुसन्धान गरेर अभियोजन प्रक्रियामा लैजाने बताउनुभयो ।

 प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पीडित पक्षले २० जनाको नाममा जाहेरी दिएको र अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । सो प्रकरणमा सङ्लग्न भनिएको अन्य दुई जना फरार रहेको उहाँले जानकारी दिनुभयो । घटनाको गाम्भीर्यलाई हेरेर प्रहरीको उच्च अधिकारीको नेतृत्वमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

दोषीमाथि कारबाही गर्न  माग
 
बैठकमा सांसदहरुले घटनाको निश्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद सुवासचन्द्र नेम्वाङले घटनाको निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

 सांसद पार्वती विसुङ्खेले घटनास्थल नजिक रहेका प्रहरीलाई पनि छानबिनको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले अनुसन्धान गर्न न्यायिक समिति गठन गर्न माग गर्दै दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 सांसद लक्ष्मी परियारले थर फेरेर मात्र दलित समुदायले मुक्ति नपाउने भन्दै जातीय विभेद अन्त्य गर्न सामूहिक अभियान चलाउन आग्रह गर्नुभयो । सांसद बालकृष्ण खाँडले गृह प्रशासनले समयमै ध्यान दिन नसक्दा घटना हुन पुगेको भन्दै राज्य प्रणालीमाथि नै आशङ्का गर्नुभयो । “लकडाउनमा ताँती लिएर हिँड्न पाइन्छ र रु”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “संसदीय छानबिन समिति गठन गरी यसको वस्तुनिष्ठ अनुसन्धान गर्नुपर्छ ।” सांसद लक्ष्मणलाल कर्णले घटना हुनै नदिनेतर्फ प्रहरी प्रशासन थप चनाखो हुनुपर्ने बताउनुभयो । सांसद मीन विश्वकर्माले सरकारले यस विषयको गाम्भीर्यलाई बुझ्न नसकेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको