अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार मात्र दुई जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।
जेठ २० गते दिउँसो २ बजे मृत्यु भएका डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनगढी ४ की ५५ वर्षीया महिलामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।
मृत्यु हुने डोल्पाका ५८ वर्षीय पुरुष लामो समयदेखि दमको रोगले पीडित थिए भने सेती अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिला पनि मिर्गौला रोगसँग लडिरहेकी थिइन् । उनको शुक्रबार डायलाइसिसकै क्रममा मृत्यु भएको हो ।
यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके, ललितपुर,अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा र पश्चिम सुर्खेतका १–१ जना गरी ११ जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या ३ हजार २ सय ३५ जना रहेकाे छ भने ३६५ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस