Like us!
Follow us!
Connect us!
Watch us!

सरकार, करको लागी कर-कर नगर : विवेकशील नेपाली

निशा हुमाँगाई

मंगलबार, २७ जेठ २०७७, ११ : ३१ मा प्रकाशित

सरकार, करको लागी कर-कर नगर : विवेकशील नेपाली

अर्थ संसार, काठमाडौं – नेपाल सरकारले कोरोना कहरका बिच जेठ ३२ सम्म लकडाउन (बन्दाबन्दी) घोषणा गरेको छ । अर्कातिर, आम जनतालाई जेष्ठ २५ गतेसम्म ( अहिले बढाएर असार ७ सम्म ) कर तिर्न भनेको छ ।

विवेकशील नेपाली दलले सरकारको यो रवैया सरासर अमानवीय, अव्यवहारिक र गैर जिम्मेवारीको पराकाष्ठा भएको ठहर गरेकाे छ । विवेकशील नेपाली दलकाे उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै यसाे बताएका हुन् ।

आपतको बेला राज्यले जनताको समस्या सम्बोधन गरी सहुलियत दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । अन्य देशका सरकारले सोही अनुरूप काम कारबाही अघि बढाइरहेका बताउँदै हाम्रो देशमा सरकार नागरिकमैत्री नदेखिएको जनाइएकाे छ । यसका साथै उद्यमशीलताका निम्ति वातावरण बनाउन नसकिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यसैगरी, यस्तो महामारीमा, सरकारले पीडित जनतालाई जीवन जिउन आधारभूत वस्तु-सेवा उपलब्ध गराउनु पर्ने र उपलब्ध गराउन सक्दैन भने जनताबाट अहिलेको अवस्थामा केही लिन पनि अघि सर्न नहुने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेपालको सम्मानित सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईको रिटमा हदम्यादको सवालमा लकडाउनको अवधिलाई 'शून्य समय' मानेको नजिर स्थापित भएको छ । यो समयमा सरकारलाई तिर्नुपर्ने भुक्तानी, कर, बैङ्क, वित्तीय संस्थाको ब्याज लगायत शुल्कमा सहुलियत दिएर उद्यमी अनि व्यापारी नागरिकलाई सरकारले प्रोत्साहन दिन जरुरी रहेकाे विज्ञप्तिमा बताइएकाे छ ।

सक्नेले समयमा कर तिर्ने, बरु त्यसमा केही प्रतिशत छुट दिने र अन्यलाई लकडाउन खुलेको ६ महिना अतिरिक्त समय दिने व्यवस्था मिलाउन दलले विज्ञप्तिमार्फत सरकार समक्ष माग पेश गरेकाे छ ।

साथै, बन्दाबन्दीको समयमा आफ्ना कर्मचारीलाई तलब सुविधा दिएका निजी क्षेत्र तथा प्रतिष्ठानहरूलाई त्यसमा लाग्ने कर तथा अन्य दायित्व मिनाहा गर्न पनि दलले आग्रह गरेकाे छ ‌‌।

त्यसैगरी, यदि कसैले घर भाडा, स्कुलको फी वा लिएको ऋणको साँवा ब्याज तिर्न सक्दैन भने अहिलेको विशेष अवस्थालाई ध्यान दिई उनीहरू प्रति समानुभूति महसुस गर्दै सक्ने छुट र म्याद थप गरेर नागरिकको जीवनमा बाँच्ने आधार सुनिश्चित गर्न दलले सरकार र सम्बन्धित निकायसमक्ष माग पेश गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको