अर्थ संसार, काठमाडौं - उसै त कोरोना भाइरसले गर्दा चिन्तित बनेका किसानलाई सलह किराले झनै पिडा थपिदिएकाे छ ।
सर्लाही जिल्लाको लालबन्दीमा पनि सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिएका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । “आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो ।”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा विशेश्वरप्रसाद यादवले जानकारी दिए । सलह किरा हजारौंको सङ्ख्यामा रहेको उनले बताएका छन् ।
“शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गराजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको” उनले भने । जिल्लाका किसान चिन्तित बनेका छन् ।
फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ ।
सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्याउने जानकारले बताएका छन् । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउने विज्ञ बताएका छन् ।
प्राविधिक टोली खटिएकाले त्यसको क्षतिको प्रकृति जात लगायतका बारेमा चाडैँ पत्ता लगाउने उनले बताए । सलह किराको जातको पहिचान र व्यवस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस