Like us!
Follow us!
Connect us!
Watch us!
संस्थापक सेयरमा लगानीको अबसर

सिद्धकाली पावरले बनाउँदै छ ७५ मेगावाटको त्रिशुली–गल्छी  आयोजना

आइतबार, ३० असोज २०७३, १३ : ४७ मा प्रकाशित

सिद्धकाली पावरले बनाउँदै छ ७५ मेगावाटको त्रिशुली–गल्छी  आयोजना

अर्थ संसार

काठमाडौं– सिद्धकाली पावर लिमिटेडले नुवाकोट र धादिङ्ग जिल्ला भई बहने त्रिशुली नदीको पानी उपयोग गरी ७५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गेर्न भएको छ । परियोजनामा नुवाकोट जिल्लाको रातमाटे–८ स्थित त्रिशुली नदीमा बाँध बनाएर ८ किलोमिटर लामो,  ७.९ मिटर व्यास भएको टनेलमार्फत पानी धादिङ्गको कल्लेरी गाविसस्थित हाँडीखोलाटारमा खसालेर दायाँ किनारमा विद्युत गृह निर्माण गर्ने कम्पनीले जनाएको  छ । 

यस आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यूमस्र्यांदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमा जोडेर राष्ट्रिय प्रसारण लाईनमार्फत देशभर आपुर्ती हुने कम्पनीका संचालक पूजा दाहालले बताइन् । परियोजनाको निर्माणपछि राजधानी शहर काठमाडौं विद्युतको आपूर्ति बढ्न गई लोडसेडिङ कम गर्न सहयोग पुग्नेछ । 

यसका साथै पृथ्वी राजमार्ग आसपासमा नयाँ उद्योग तथा व्यबसायहरू स्थापना भई रोजगारी बृद्धि र आयआर्जन गर्न सहयोग पुग्नेछ । आयोजना स्थल नेपालको पयर्टकीय प्रमुख केन्द्रमा परिणत हुने आयोजनाको दावी छ । यहाँ जलव्रिmडा, नौकाबिहार, मत्स्यपालन, बनभोज, रिसोर्ट, प्राकृतिक उपचार केन्द्र, फलफूल  तरकारी उत्पादन, दुग्ध व्यबसाय, आदि संचालन गरी स्थानिय बासिन्दाले रोजगारी र आय आर्जनका अवसरहरू प्राप्त गर्न सक्नेछन् । त्रिशुली तथा यसका शाखा नदीहरूमा धेरैवटा जलविद्युत आयोजनाहरू निर्माण भई संचालनमा छन् । 

त्रिशुली गल्छी जलविद्युत आयोजनाको विस्तृत अध्ययन (डिपीआर) भारतको बंगलोरमा प्रधान कार्यालय रहेको डिजाइन ग्रुप कन्सल्टेन्टमार्फत भएको हो । परियोजनाको बिस्तृत संभाव्यता अध्ययन भएपछि गत जेठ १२ गते विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ । कम्पनीले यसपछि वित्तिय व्यबस्थापन गरी सरकारबाट विद्युत उत्पादन गर्ने अनुमति लिएर आगामी माघभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको संचालक दाहालले बताइन् । परियोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष छ । 

आयोजनाको बिस्तृत डिजाइनका लागी भारतको नोयडास्थित स्ट्राटा एन्ड स्ट्रक्चर कम्पनीलाई नियुक्त गरिएको छ । परियोजना निर्माणका लागी विश्वमा प्रचलित आधुनिक प्रविधिको उपयोग गरिने कम्पनीले जनाएको छ । यस परियोजनामा सुरुंग, बाँध, सर्जसाफ्ट तथा विद्युत गृह  निर्माण सबैभन्दा जटिल कामहरू हुन् । ‘यस आयोजनामा ठूला संरचनाहरू निर्माण गर्नु पर्ने हुन्छ,’ दाहालले भनिन्, ‘यसका लागी विदेशी विज्ञ र प्रविधिको आवश्यकता पर्ने छ । ती काम स्वदेशी, चिनियाँ र भारतीय कम्पनीहरूबाट गराइनेछ ।’   

यस परियोजनाको निर्माण लागत १४ अर्ब ४ करोड ३७ लाख हुने अनुमान छ । यस हिसाबले विद्युत उत्पादन हुँदा आयोजनाको लागत प्रतिमेगावाट १८.७२ करोड रुपैयाँ पर्ने छ । राजधानीबाट नजिक तथा आधारशिलाहरूको सुव्यबस्था भएकोले परियोजना लाभदायक हुने संचालक दाहालको दावी छ । 

त्रिशुली गल्छी जलविद्युत परियोजना निर्माणको लागी लाग्ने लगानी मध्ये ९ अर्ब ८३ करोड (७० प्रतिशत) लक्ष्मी बैंकको अगुवाईमा कन्सोर्टियम बनाई लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । बाँकी ४ अर्ब २१ करोड ३७ लाख शेयरधनीहरू लगानी जुटाईनेछ । सिद्धकाली पावर लिमिटेडकोे बहुमत शेयरमा अपि पावर लिमिटेडले लगानी गर्ने छ । परियोजना प्रभावित जिल्लाहरू (धादिङ्ग र नुवाकोट) का बासिन्दालाई १० प्रतिशत (४२ करोड १४ लाख) रुपैयाँ बराबरको शेयर छुट्ट्याईएको छ । सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याइएको दाहालले बताइन् ।

यस आयोजनाबाट बार्षिक ४२.९८ करोड किलोवाट घण्टा विद्युत उर्जा उत्पादन हुनेछ । उत्पादित उर्जामध्ये ७.२४ करोड किलोवाट घण्टा हिऊँदका चार महिनाहरूमा (पुस–चैत) तथा ३५.७४ करोड किलोवाट घण्टा वर्षातका आठ महिनाहरूमा (बैशाख–मंसिर) उत्पादन हुन्छ ।

हिउँद्का चार महिनामा उत्पादन हुने विद्युतको बिक्री मूल्य ८ रुपैयाँ ४० पैसा र वर्षातका ८ महिनामा उत्पादन हुने विद्युतको विक्री मूल्य ४ रुपैयाँ ८० पैसा तोकिएको छ । यस मूल्यमा पहिलो ८ वर्षसम्म ३ प्रतिशतका दरले मूल्य वृद्धि हुने प्रावधान सम्झौतामा छ । उत्पादन अनुमति प्राप्त भएको ३५ वर्षपछि अन्य जलविद्युत परियोजनाभैm यो परियाजना पनि नेपाल सरकारलाई हस्तान्तरण भई जानेछ । 

त्रिशुली गल्छी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको पहिलो वर्ष २ अर्ब २८ करोड ७४ लाख रुपैयाँ तथा नवौं वर्षदेखि बार्षिक २ अर्ब ४३ करोड १५ लाख रुपैयाँका दरले आय आर्जन गर्ने अनुमान छ । उक्त आम्दानीबाट कम्पनीको व्यबस्थापन खर्च, परियोजना संचालन खर्च, सरकारलाई तिर्नुपर्ने रोयल्टीको भुक्तानी, बैंक ऋणको सावाँ तथा व्याज भुक्तानी गरी बचेको रकमबाट शेयरधनीहरूलाई लाभांश उपलव्ध गराईने संचालक दाहालले बताइन् । 

परियोजना निर्माणको क्रममा स्थानीय जनता तथा सर्वसाधारणका लागि कम्पनीले संस्थागत लगानीकर्ताका रुपमा लगानी खुल्ला गरेको छ । जलविद्युत परियोजना अन्य क्षेत्रभन्दा कम जोखिमको क्षेत्र हो । आफ्नो लगानीलाई शेयरमा परिणत गरी शेयर धितोपत्र वजारमा किनबेच हुने व्यबस्था हुने भएकाले लगानीमा तरलता उपलव्ध हुनेछ । ईच्छुक लगानीकर्ताले परियोजनाको शेयरमा न्यूनतम १ लाख रुपैयाँदेखि लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले थापाथलीस्थित ट्रेड टावरबाट सेयर फर्म वितरण गरिरहेको छ ।  

‘सानो बचतबाट ठूलो परियोजनामा लगानी गर्ने यो एक राम्रो अवसर हो’ संचालक दाहाले भनिन्, ‘तपाईको सानो लगानीबाट देशलाई लोडसेडिंगबाट मुक्त गर्न ठूलो सहयोग पुग्नेछ । एक पटकको लगानीबाट लामो अवधिसम्म नियमित आय प्राप्त हुने जलविद्युत परियोजनामा हुने लगानीबाट परियोजनाले उत्पादन सुरु गरेपछिको दोश्रो वर्षदेखि शेयरधनीलाई लाभांश उपलव्ध गराउने छ । बैंकको ऋण तिरेपछि उच्च दरले लाभांश उपलव्ध गराउन सकिने छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको