Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्षको दशैँ : सुनसान गाउँघर, किसानहरुलाई मङ्सिर भित्र्याउनै चटारो (फोटोफिचर)

अर्थसंसार

विहीबार, ०६ कार्तिक २०७७, १३ : १७ मा प्रकाशित

यस वर्षको दशैँ : सुनसान गाउँघर, किसानहरुलाई मङ्सिर भित्र्याउनै चटारो (फोटोफिचर)

सरस्वती अधिकारी, काठमाडौं - मौसम शरद ऋतुको अनि समय दशैँको ।  पानी परेपछि खुल्ने आकाश अनि वर्षदिनमा खुल्ने खुशी । बयान कसरी गर्नु !  नेपालीहरूको ठूलाठूला चाडलाई स्वागत गर्दै मुस्कुराउने शरद ऋतु खुशीको बहारैबहार बोकेर आउँछ । दशैँ भन्ने बित्तिकै मिठो खाने, नयाँ लगाउने, पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने र वर्षभरीको दुखलाई विर्षेर रमाउने दिन भन्ने बुझिन्छ । ठूलाबडाको हातबाट आशिर्वाद लिने अनि सानालाई आर्शिर्वाद दिन दशैँको बयान गरि साध्य नै छैन् । 

यस वर्षको दशैँ पनि शुरु भइसकेको छ ।  कार्तिक १ गते घटस्थापना गरेसँगै नेपालीहरुको महान चाड शुरु भएको हो । दशैँलाई विजया दशमीको रुपमा पनि चिनिन्छ ।  दुर्गाको विभिन्न ९ रुपको पुजा अर्चना गरी दशौँ दिन प्रसाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइन्छ दशैँ । दशैँमा परदेशीहरु घरदेश फर्कन्छन् अनि आफ्नो भविष्य उज्ज्वल पार्न शहर पसेकाहरु पनि गाउँ फर्कन्छन् । अनि बालबालिकाहरु नयाँ लुगा लगाएर पिङमा मच्चिन र हावामा चंगा उडाउन व्यस्त हुन्छन् ।  अघिपछि प्राय खाली र सुनसान हुने गाउँघर दशैँमा भरिपूर्ण हुन्छन् ।  वर्षौदेखि छुटिएका साथीभाई भेट हुने मौका पनि हो दशैँ । गाउँ भरी बाबियाे  खोजेर लट्ठारो बाट्न होस् या बाँसको लिंगा खोजेर नै किन नहोस् पिङ हालेर सबैजना एकैठाउँमा जम्मा हुन्छन् ।  टिकाको दिन झन् भुइँ छाड्नु पर्छ भन्ने मान्यता छ ।  घरघरमा खसी काटेर मासु खाँदै मनाइन्छ दशैँ ।

तर यसवर्ष गाउँ सुनसान छ ।  न पर्देशी घर फर्केका छन् न शहर पसेका छोराछोरी नै । कारण हो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) । गत डिसेम्बरमा छिमेकी मुलुक चीनबाट फैलिएको यो भाइरसका कारण ४ करोड ११ लाखभन्दा बढी मानिस संक्रमित भैसकेका छन् भने १ करोड १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय नेपालमा पनि यसको जोखिम बढ्दै गइरहेको छ । यसबाट बच्न सामाजिक दूरी कायम राख्नुबाहेक अरु विकल्प नै छैन ।  सरकारले पनि जहाँ छौँ त्यहिँ बसेर मनाउऔँ भनेको अवस्थामा यसवर्ष शहरदेखि गाउँसम्म प्राय सुनसान नै छ ।

दशैँ आए पनि यतिबेला किसानहरुलाई भने मङ्सिर भित्र्याउने चटारो छ । किनभने यो मानाे राेपेर मुरी भित्र्याउने समय हो ।  जताततै लहलह झुलेका धानका बालाहरुले सुनैसरी देखिएका छन् खेतहरु । किसानहरुलाई यतिबेला धान भित्र्याउन नै भ्याइनभ्याइ छ ।  दिनभर खेतबारीमै व्यस्त उनीहरु थकित छन् । खासै दशैँको उत्साह उनीहरूलाइ छैन । दशैँको जोहोभन्दा पनि उनीहरु यतिबेला वर्षभरिकै लागि अन्नकाे जोहो गर्नमै व्यस्त छन् ।  दिनभर गाउँघर चकमन्न हुन्छ । बाबियाँ बाट्नेहरु धानका बिटा लगाउनै व्यस्त छन् अनि बाँसका लिंगा खोज्नेहरु धानका बिटा कुट्नमै व्यस्त छन् ।  फूल आँगनको ढिलभरि भुलेका छन् धनका बाला पनि आलीभरि झुलेका छन् । सदाबहार गुन्जने दशैँका गीत पनि बजेकै छन् ।  तर न पिङ छ, न उल्लास । अनि न सबै परिवार एकै ठाउँमा भेला भएका छन् ! यस वर्षको दशैँ किसानलाई चटारो अनि अरुलाई फिक्का भएकाे छ ।  

मङ्सिर भित्र्याउने चटारोमा किसान ! तस्वीरमा हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको