Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको आवागमनलाई सहज तुल्याउन  बिमस्टेक भिसा उपयोगीः मन्त्री थकाली

सोमबार, ०१ कार्तिक २०७३, ११ : ११ मा प्रकाशित

लगानीकर्ताको आवागमनलाई सहज तुल्याउन  बिमस्टेक भिसा उपयोगीः मन्त्री थकाली

अर्थ संसार
काठमाडौं–वाणिज्य मन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउन सके यसबाट अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापारका साथै आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताएका छन् ।

 भारतको राजधानी नयाँ दिल्लीमा विक्स र बिमस्टेक लिडर्स समिटको साइडलाइनमा आयोजित बिमस्टेक विजनेश समिटलाई सम्बोधन गर्दै मन्त्री थकालीले यस्तो बताएका हुन्।प्राकृतिक तथा मानव स्रोतसाधन दुवैमा अत्यन्त धनी क्षेत्रको रूपमा रहेको भए तापनि व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर क्षेत्रको रूपमा रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको बताउँदै मन्त्रीले बिमस्टेक फ्रेमवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकहरूबीच व्यापार, लगानी र सेवा व्यापार क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिए । 


पूर्वाधार विकासका क्षेत्रमा रहेका व्यवधानहरूलाई पन्छाउँदै सडक यातायात, रेल तथा हवाई सेवा, बन्दरगाह र आन्तरिक जलमार्गको विकासमार्फत सम्पर्क सुदृढ गरी यस क्षेत्रका मुलुकहरूबीच व्यापार विस्तार गर्न सकिने कुरामा उनले विश्वास व्यक्त गरे ।

यस क्रममा केही समयअघि तयार भएको विस्टेक ट्रान्सपोर्ट इन्फ्रास्ट्रक्चर एन्ड लजिस्टिक स्टडीको प्रभावकारी कार्यान्वयन हुनसके यसबाट यस क्षेत्रका मुलुकहरूबीच कनेक्टिभिटी विस्तार भई व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने बिचार मन्त्री थकालीले बैठकमा राखेका थिए ।  यसैगरी यस क्षेत्रमा लगानीकर्ता र व्यवसायीहरूको आवागमनलाई सहज तुल्याउन  बिमस्टेक भिसा उपयोगी हुनसक्ने कुरामा पनि मन्त्रीले जोड दिए । 


 
सम्मेलनका दौरान मन्त्रीले भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री श्रीमती निर्मला सीतारामनसँग पनि भेटवार्ता गरे ।  भेटघाटका क्रममा द्विपक्षीय व्यापार विस्तारका साथै यस क्षेत्रका सदस्य मुलुकहरुबीच सम्पर्क विस्तार गरी व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको थियो ।
 
भारतको परराष्ट्र मन्त्रालय र भारतीय उद्योग महासंघको संयुक्त तत्वावधानमा आयोजित उक्त बिजनेश समिटमा भाग लिन नेपाल सरकारको तर्फबाट वाणिज्य मन्त्रीको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसहितको एक प्रतिनिधिमण्डल  नयाँ दिल्ली गएको थियो । 

उक्त कार्यक्रममा सहभागी भएर वाणिज्य मन्त्री थकाली बंगलादेशको ढाकामा आयोजित नवौं दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनमा भाग लिन बंगलादेशको ढाका पुगेका छन् । कार्यक्रममा मन्त्री थकालीले सार्क क्षेत्रबाट गरिबी उन्मूलन गर्न, जलवायु परिवर्तनबाट उत्पन्न जोखिमहरुलाई न्यूनीकरण गर्न र दिगो आर्थिक वृद्धि हासिल गर्न यस क्षेत्रका मुलुकहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिए ।

सार्कका बडापत्रमा उल्लिखित लक्ष्य र उद्देश्यहरु अहिले झन् सान्दर्भिक भएको कुरामा जोड दिँदै मन्त्रील ती साझा लक्ष्यहरुलाई परिणाममुखी तरिकाले व्यवहारमा उतार्न सबैले जोड दिनुपर्ने कुरा व्यक्त गरेको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघको पहलमा यसै वर्षको शुरुबाट कार्यान्वयनमा ल्याइएको दिगो विकास एजेण्डाको प्रभावकारी कार्यान्वयनका लागि सार्क क्षेत्रका मुलुकहरुबीच व्यापार, लगानी र पूर्वाधार विकासका क्षेत्रमा थप सहयोग र सहकार्यको खाँचो रहेको  मन्त्रीले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको