Like us!
Follow us!
Connect us!
Watch us!

२५० मेगावाट विद्युत आयात गरिने

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, १४ : २४ मा प्रकाशित

२५० मेगावाट विद्युत आयात गरिने

अर्थ संसार, काठमाडौं - सुक्खायाममा सहज रुपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत आयात गर्ने भएको छ ।

विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उनका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उनले जानकारी दिए ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत एनभिएिनमार्फत आएको विद्युत हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत आयात गर्छ ।

विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ ।

पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत प्रवाह गर्दै आएको छ ।

सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत सुधार आएको छ । विद्युत्भार कटौतीको अन्त्य, चोरी नियन्त्रण जस्ता कारणले प्राधिकरण नाफामा समेत गएको छ । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनसमेत ४०० केभीमा सञ्चालनमा आएको छ । सवस्टेशनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केबर–मुजफफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभीमा नै सञ्चालन हुनेछ ।

नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने र सुरक्षात्मक उपायसमेत अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरुपमा समेत सवस्टेशनको मर्मत तथा सम्भारलाई समेत ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा समेत मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा समेत एकरुपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गुणस्तरीय र सहज विद्युत् आपूर्तिका लागि प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनःप्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन् । मन्त्री पुनले उपभोक्तालाई गुणस्तरीय विद्युत प्रवाहका लागि सवस्टेशनको मर्मतसम्भार, ट्रान्सफर्मरको क्षमता वृद्धि तथा प्रसारण लाइनमा रहेको समस्या समाधानका लागिसमेत पहल गरिरहेका छन् ।

मन्त्री पुनले निर्माणाधीन प्रसारण लाइनसमेत तत्काल सम्पन्न गर्न पहल गरेका छन् । सोलु करिडोरको समस्या समाधान भएको छ भने अन्य प्रसारण लाइनकोसमेत समस्या समाधानका लागि पहल भइरहेको उनको सचिवालयले जनाएको छ ।

रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको