Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक उथलपुथलकाबीच सेयर बजार कता जाला ? सेयर विश्लेषक र नेताहरु के भन्छन् ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ११ : १९ मा प्रकाशित

राजनीतिक उथलपुथलकाबीच सेयर बजार कता जाला ? सेयर विश्लेषक र नेताहरु  के भन्छन्  ?

अर्थ संसार,काठमांडौ– केही सातादेखि निरंतर बढेको सेयर बजार मंसिर ३० गते अहिलेसम्मकै उच्च विन्दूमा पुग्यो । त्यसदिन नेप्से २१०१.४७ अंकमा पुगेको थियो । त्यसपछि नाफा बुक गर्नेहरुले विक्री बढाउँदा नेप्से झिनो अंकले घट्दै बढ्दै आएको छ ।

एकाएक संसद भंगको खबर बाहिरिएपछि भने नेप्समा पहिरो नै गयो । दोस्रो बजारमा सेयर बिक्रि गर्नेहरुको लर्को नै देखियो । राजनीतितक उथलपुथलसँगै लगानीकर्ताहरुको मनस्थिति अस्थिर भयो ।फलस्वरुप लगानीकर्ताहरु आफुसँग भएको शेयरको सस्तो मूल्यमा बेच्न थाले । 

कोरानाले थलिएको देशको अर्थतन्त्र संसद बिघटनसँगै आउने राजनीतिक अस्थिरताले थप तहसनहस हुने त्रास लगानीकर्ताहरुमा छायो । त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिने अनुमानले सबै लगानिकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्नतर्फ बढी केन्द्रित भएको देखिन्छ । दोस्रो बजारमा भर्खरभर्खर प्रबेश गरेकाहरु अहिले अबस्था हेर्दा थप त्रसित हुन पुगे । अहिलेको राजनितिक परिदृष्य हेर्दा देशमा कहिले राजनीतिक स्थायित्व आउँछ यकिन भन्न सकिने अवस्था देखिदैन ।

एउटै दल नेकपालाई करिब २ तिहाई मत दिएर जिताउँदा त अवस्था यस्तो भयो भने आगामी निर्बाचनबाट कस्तो परिणाम आउँला ? कस्को सरकार बन्ला ? स्थायी सरकार बन्ला कि नबन्ला ? यकिन अनुमान गर्न सकिने छैन । संसद बिघटनको र्निणय अनुमोदन भएको पहिलो दिन बजार राताम्य भयो । दोस्रो दिन सोमबारको पनि प्रारम्भमा बजार राताम्य रह्यो । तर कारोबारको करिब एक घण्टापछि भने बजार उकालो लाग्न थालेको थियो । अत्तालिएका लगानीकर्ताले सेयर बेच्ने र सस्तोमा पाउँदा सेयर किन्नेहरु बजारमा प्रवेश गर्दा बजारमा निकै उतारचढाव आयो । अन्तिममा हरियाली छाउँदै बजार बन्द भएको थियो ।

आइतबार पहिरो गएको बजार सोमबार केही अंकले बढ्दा अझ पनि कतिपय लगानीकर्ताहरु अन्योलमा देखिन्छन् । अव आउने राजनीतिक परिदृष्यबाट बजार प्रभावित हुन्छ र लगानी डुब्छ कि भन्ने पिर कतिपय लगानीकर्ताहरुमा पाइन्छ । यो अवस्थामा बजार के हुन्छ भनि हामीले शेयर बजारसँग सम्बन्धित बिभिन्न व्यक्तित्वहरुसंँग कुरा गरेका छौं ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका बिचारमा अहिलेको शेयर बजारको पहिरो क्षणिक मात्र हो । केही दिन पहिले नेपाल राष्ट्र बैंकले शेयर बजारको समिक्षा गर्ने मात्र भन्दा त १२३ अंकले घटेको नेप्से त्यसको भोलिपल्टै पुनः ७२ अंकले बढेको घटनालाई स्मरण गर्दै रोनियारले भने, अबको १–२ दिनमा बजार करेक्सन भएर नेप्से उकालो लाग्छ । उनको विचारमा अहिले बजारमा पहिरो जानुको प्रमुख कारण भनेको बजारमा प्रबेश गरेका नयाँ लगानिकर्ताहरुको डर र अपरिपक्वता मात्र हो । रौनियारका अनुसार अहिलेको राजनितिक परिबर्तन सेयर बजारका लागि सकारात्मक हो । केही समयदेखिको सत्तारुढ नेकपाभित्रको बिवादले झन् अस्थिरता बढाएको थियो ।

तर प्रधानमन्त्रीको कदम राजनितिक रुपमा सकारात्मक नकारात्मक जे भए पनि देशले एउटा निकास पाएको छ । देशमा र्निवाचन घोषणा भइसकेको छ । उद्योग कलकारखाना चलिरहेका छन्, व्यापार व्यबसाय चलिरहन्छन् अनि किन बजार आरालो लाग्ने ? अबको केही दिनमा सेयर बजार उकालो लाग्छ । यसलाई कसैले रोक्न छेक्न सक्दैन ।

नेप्से घटे पनि बजारमा कारोबार घटेको छैन । आइतबार मात्र ९ अर्बभन्दा माथिको कारोबार हुनु बजारका लागि सकारात्मक पक्ष औल्याउदै रौनियारले संयमित भई र्निधक्क भएर शेयरमा लगानी गर्न आम लगानीकर्ताहरुलाई आह्वान गरे ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल फेसबुकमा लेख्छिन्, हामी राजनीतिक मात्र होईन आर्थिक, सामाजिक, साँस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौ । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्र्रसव बेदना सहन गाह्रो त हुन्छ तर सहनुको पनि बिकल्प हुदैन ।

उनको बिचारमा बजार सधै एउटै गतिमा हिड्दैन । बढेको बजार जति घट्ने सम्भावना हुन्छ त्यतिनै घटेको बजार पनि बढ्ने संभावना रहन्छ । तर बजार को घटाइ बढाइ लाई प्रभाव पार्ने बिभिन्न तत्वहरु हुन्छन् । जसले कहिले बजारलाई नसोचको उचाइमा पुर्याउछन् भने कहिले नसोचेकै जसरी झारिदिन्छन् । त्यसकारण यसलाई क्षणिक रुपमा बुझी संयमित भइ कारोबार अगाडि बढाउनुको कुनै बिकल्प हुुदैन ।

पोखरेल सेयर बजार जति अवसरको खानी हो, यसमा त्यति नै चुनौतीहरु पनि हुने बताउँछिन् । त्यस्ता चुनौतीहरुलाई पार गर्दै अगाडि बढ्ने लगानीकर्ताले मात्र बजारमा सफलता हासिल गर्न सक्दछ ।

शेयर बिश्लेसक बिष्णु बस्याल पनि अहिलेको अवस्थामा २–४ प्रतिशतले बजार घट्नु सामान्य रहेको बताउँछन् । लकडाउन अघि ११५० को हारहारीमा रहेको नेप्से करिब ९० प्र्रतिशतले बढेर २१०० सम्म पुग्दा कहिले काँही २–४ प्रतिशतले घट्दा आत्तिनु पर्ने अवस्था नरहेको उनको तर्क छ ।

राजनीतिक अस्थिरताको अवस्थामा सेयर बजार तलमाथि हुनुलाई स्वभाविक मान्दै उनी भन्छन्, अझै अबको एक महिनासम्म बजारमा यस्तै अबस्था रहन सक्ने भएता पनि बजार १८०० भन्दा तल नआउने उनको बिष्लेषण छ । अहिलेको अवस्थलाई नकारात्मक रुपमभन्दा पनि खरिदको अवसरका रुपमा लिनु पर्ने उनको तर्क छ ।

शेयर लगानिकर्ता पुष्पा कोइरालाको भनाईमा अहिलेको अवस्था राजनितिक परिवर्तनका कारण नयाँ लगानीकर्ताहरु हतोस्साहित भएका कारण आएको हो । कसैको पनि कल्पनाबाहिरको घटना भएकोले अबको अवस्था कस्तो हुने भन्ने बारेमा कसैले पनि अनुमान लगाउन नसकिरहेको अवस्थामा केही समयअगाडि मात्र बजारमा प्रबेश गरेकाहरुले नाफा बुक गर्न हतारिँदा बजार घटेको उनको बुझाई छ ।

नेप्सेको सूचक घटेता पनि अहिले बजारको कारोबार नघटेकोले लगानीकर्ताहरु आत्तिने अवस्था छैन । सामाजिक सञ्जालको हल्लाको पछि नलागी कम्पनीका बारेमा राम्रो अध्ययन गरेर लगानी गर्न सकेमा अहिलेको समय लगानीका लागि उत्तम समय रहेको उनको तर्क छ ।

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

 

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको