नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा गम्भीर अनियमितता देखिएको भन्दै धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा. लि. को कारोबार सञ्चालन अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ।
बोर्डको निर्णयअनुसार उक्त कम्पनीले प्रचलित कानुनी प्रावधानहरूको उल्लङ्घन गर्दै ग्राहकको सेयर खरिद–बिक्री तथा धितो (कोल्याट्रल) रकम अन्य ग्राहकको कारोवार मिलाउन प्रयोग गरेको पाइएको छ। यस किसिमको अभ्यासले लगानीकर्ताको सम्पत्ति जोखिममा पार्नुका साथै समग्र पूँजी बजारमा नकारात्मक असर पार्ने देखिएको सेबोनले जनाएको छ।
सेबोनका अनुसार कम्पनीले धितोपत्र व्यवसायीसम्बन्धी नियमावलीका व्यवस्था उल्लङ्घन गर्दै खरिदकर्ता ग्राहकबाट रकम उठाएर बिक्रीकर्ता ग्राहकलाई भुक्तानी दिने प्रणाली अपनाएको थियो। यसले बजारमा पारदर्शिता कमजोर बनाउने र वास्तविक कारोबार प्रणालीमा अव्यवस्था ल्याउने जोखिम रहेको नियामकको ठहर छ।
त्यसैगरी, कम्पनीले धितोपत्र खरिदका लागि आवश्यक न्यूनतम २५ प्रतिशत अग्रिम रकम नलिई लगानीकर्तालाई उधारोमा सेयर खरिद गर्न दिएको समेत खुलेको छ। यस्तो अभ्यासले बजारमा कृत्रिम माग सिर्जना गर्न सक्ने र सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउन सक्ने विश्लेषकहरू बताउँछन्।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको लगानीकर्ताप्रति करिब ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी दायित्व देखिएको छ। लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा सेयर जम्मा गर्ने प्रवृत्तिले बजारको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
यस्ता गतिविधि निरन्तर रहिरहेमा लगानीकर्तालाई ठूलो नोक्सानी हुन सक्ने आकलन गर्दै सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको हो।
निलम्बन अवधिभित्र कम्पनीलाई कानुनी दायित्व पालना गर्दै लगानीकर्तालाई तिर्नुपर्ने रकम फछ्र्यौट गर्न निर्देशन दिइएको छ। साथै, उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्ताले अन्य दलाल कम्पनीमार्फत कारोबार गर्न चाहेमा आवश्यक प्राविधिक तथा प्रशासनिक सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस