Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा जुलुस शुरुः प्रम, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १२ : ५६ मा प्रकाशित

नेकपा जुलुस शुरुः प्रम, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।  

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, हामी जनता जाग्दैछौँ निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ । 

त्यस्तै, पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताउनुभयो । सभा सफलतापूर्वक सम्पन्न गर्न  पार्टी  काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

त्यसैगरी, सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नुहुनेछ । प्रदेश अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जानका लागि आह्वान गर्न र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश कमिटीले सभा सम्पन्न गर्नका लागि बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली गरेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको