Like us!
Follow us!
Connect us!
Watch us!

तनहु सेती आयोजनाको पचास प्रतिशत बढी मुआब्जा वितरण

बुधबार, २० बैशाख २०७४, १६ : ४६ मा प्रकाशित

तनहु सेती आयोजनाको पचास प्रतिशत बढी मुआब्जा वितरण

अर्थ संसार 
काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहु सेती जलविद्युत् आयोजनाले हालसम्म पचास प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ ।

आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्ज मध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण गरिएको छ ।

मंगलबार र आज गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र डुबान क्षेत्र प्रभावितको आधारमा समेत पचास प्रतिशत बढी मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले राससलाई जानकारी दिनुभयो ।

यसअघि रु २१ करोड मुआब्जा वितरण भइसकेको थियो । घरधुरीका हिसाबले पनि कुल ३३० घरधुरीले मुआब्जा पाउनेमा हालसम्म १६२ घरधुरीका परिवारले मुआब्जा बुझेका छन् ।

कुल १४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफुल तथा रुखविरुवाको क्षतिपूर्ति वितरण गरिएको आयोजनाले जनाएको छ ।  

आयोजनाले गत ५ फागुनबाट मुआब्जा बितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्ष ०७३/७४ मा मुआब्जा वितरणका लागि रु ४२ करोड विनियोजन गरेको छ ।
डुवान क्षेत्रमा पर्ने करिव एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ ।

यसका लागि करिव रु ६० करोड लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन् ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वाषिर्क औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ । बढी विजुली माग हुने हिउँदमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाट क्षमतामा सञ्चालन हुने छ ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण सहितको हो ।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैकको ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको