Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद मार्फत पुँजी बढाउँदै बीमा कम्पनी

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १४ : ४२ मा प्रकाशित

हकप्रद मार्फत पुँजी बढाउँदै बीमा कम्पनी

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरू छन् ।

पछिल्लो समय पुँजी बढाउनका लागि केही बीमा कम्पनीहरूले हकप्रद निष्कासनको प्रकृया अगाडि बढाएका छन् ।

बीमा समितिले बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ जारी गर्दै निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउन निर्देशन दिएको थियो । हालसम्म हकप्रद निष्कासन गर्ने सूचना प्रकाशन गरेका यी ३ निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी भने बीमा समितिले तोके बमोजिम नै छ । बीमा समितिले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिमा कुनै राेक लगाएकाे छैन । बीमा कम्पनीहरूले आवश्यकता र क्षमताकाे आधारमा पुँजी वृद्धि गर्न सक्नेछन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चैत्र ९ गते, सोमबार सम्पन्न भएको पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभाले बोनस सेयर पश्चात कायम हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्यो । कम्पनीले गत साउनमा पनि ३० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो। हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीको २७ दशमलव ७६ प्रतिशत बोनस पारित भएसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । सोही पुँजीको ३० प्रतिशत हकप्रद निष्कासन गरेपछि भने कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित वैशाख ७ गते मंगलबारका लागि तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

यसका साथै, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित वैशाख १२ गतेका लागि २३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गरेपछि भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।

यसरी केही कम्पनीहरूले हकप्रद निष्कासन गर्ने निर्णय सार्वजनिक गरेपछि लगानीकर्ताहरू पनि बीमा कम्पनीतर्फ आकर्षित भएका छन् । जुन कुरा पछिल्लो केही दिनको नेपाल स्टक एक्सचेञ्जको तथ्यांकले पनि पुष्टि गर्दछ । आजकाल सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा अधिकांश बीमा कम्पनीहरू पर्न थालेका छन् । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदको सूचना प्रकाशन गरेपछि अजोड इन्स्योरेन्स सँगै नयाँ आएका सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर पनि लगातार सकारात्मक सर्किट लेभलमा कारोबारमा भइरहेको छ । यी बाहेक अन्य बीमा कम्पनीहरूको सेयर मूल्य पनि बढिरहेको छ ।

त्यसैगरी, अहिलेकाे प्रस्तावित बीमा विधेयकमा पुँजी वृद्धिकाे निर्णय गर्ने अधिकार बीमा प्राधिकरणलाई दिने व्यवस्था रहेकाे छ । बीमा प्राधिकरणले मुलुककाे वित्त वा पुँजी बजारकाे स्थिती, बीमकले निर्वाह गर्नुपर्ने दायित्व, बीमककाे वित्तीय अवस्थाका आधारमा अवधि ताेकेर बीमकलाई चुक्ता पुँजी बढाउन आदेश दिन सकिने व्यवस्था छ । उक्त अवधिभित्र बीमकले चुक्ता पुँजी कायम गरिसक्नु पर्नेछ । त्यसैले, याे विधेयक पारित भएपश्चात् बीमा कम्पनीहरूलाई पुँजी बढाउन दवाव बढ्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको