नेपाल बीमा प्राधिकरणले आइतबारदेखि देशभरका बीमा कम्पनीलाई कार्यालय सञ्चालनलाई पूर्ण रूपमा पूर्ववत् गर्ने निर्देशन दिएको छ।
केही दिनयता उत्पन्न भएको असामान्य अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै प्राधिकरणले बीमा सेवा प्रवाहमा कुनै अवरोध नराख्न आग्रह गरेको हो।
सुरक्षा निकायले लगाएको कर्फ्यू र निषेधाज्ञा पनि क्रमशः खुकुलो बनाउँदै लगेकाले अब कम्पनी र शाखा कार्यालयले पूर्ण रूपमा ग्राहक सेवा सुरु गर्न सक्ने अवस्था बनेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले सूचना जारी गर्दै बीमा कम्पनीका कर्मचारीलाई कार्यालयमै उपस्थित भई कार्य गर्न स्पष्ट निर्देशन दिएको छ। यसले दैनन्दिन कार्य सञ्चालनसँगै ग्राहकलाई सहजता हुने विश्वास लिइएको छ।
यसअघि, भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिपूर्ति भुक्तानीलाई सहज र सरल बनाउने उद्देश्यले प्राधिकरणले बीमा कम्पनीलाई विशेष ध्यान दिन निर्देशन दिइसकेको छ। बीमा दाबी गर्ने ग्राहकलाई अनावश्यक झन्झटमा नपार्न पनि आग्रह गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस