अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा त्यसपछि उत्पन्न क्षेत्रीय तनावका कारण खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको बीमा व्यवस्था प्रभावित हुन थालेको छ। बढ्दो युद्ध जोखिमलाई ध्यानमा राख्दै बीमा कम्पनीहरूले जहाज सम्बन्धी बीमा नीतिहरू रद्द गर्ने तथा प्रिमियम दर उल्लेखनीय रूपमा बढाउने तयारी सुरु गरेका छन्।
अन्तर्राष्ट्रिय वित्तीय सञ्चारमाध्यमहरूका अनुसार युद्ध जोखिम मूल्यांकन गर्ने बीमाकर्ताहरूले सोमबार बजार खुल्नुअघि नै खाडी क्षेत्र र होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने जहाजका लागि जारी बीमा सम्झौता पुनरावलोकन गर्न तथा केही अवस्थामा रद्द गर्न सूचना पठाएका छन्। इरानले अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी प्रतिकारात्मक आक्रमण गरेपछि जोखिम मूल्यांकन अचानक बढेको बताइएको छ।
समुद्री बीमा क्षेत्रका विज्ञहरूका अनुसार हालसम्म जहाजको प्रतिस्थापन मूल्यको करिब ०.२५ प्रतिशत बराबर रहेको बीमा शुल्क अब झण्डै ५० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। उदाहरणका रूपमा १० करोड अमेरिकी डलर मूल्य बराबरको जहाजका लागि एक यात्रामा करिब २ लाख ५० हजार डलर लागत लाग्ने बीमा शुल्क बढेर ३ लाख ७५ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरिएको छ।
इजरायली बन्दरगाहमा आवतजावत गर्ने जहाजहरूको बीमा दर पनि उल्लेखनीय रूपमा बढ्ने संकेत देखिएको छ। यसअघि करिब ०.१ प्रतिशत आसपास रहेको दरमा समेत करिब आधासम्म वृद्धि हुन सक्ने बीमा दलालहरूले बताएका छन्।
विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले बीमाकर्ताहरूको प्रमुख चिन्ताको केन्द्र बनेको छ। विश्वभर आपूर्ति हुने कच्चा तेलको झण्डै पाँचौँ हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले सम्भावित अवरोधले ऊर्जा बजारमा ठूलो प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
बीमा क्षेत्रका विश्लेषकहरूले इरानमाथि आक्रमण निरन्तर जारी रहेमा इरानले समुद्री यातायातलाई दबाबको साधनका रूपमा प्रयोग गर्न सक्ने जोखिम बढेको बताएका छन्। यससँगै इरानसँग सम्बन्धित समूहहरूले जहाज नियन्त्रणमा लिन वा अवरोध सिर्जना गर्न सक्ने सम्भावनालाई समेत बीमा कम्पनीहरूले मूल्यांकनमा समावेश गरेका छन्।
तनाव बढ्दै गएपछि केही जहाजहरूले होर्मुज जलडमरूमध्य पार गर्ने योजना स्थगित गर्दै वैकल्पिक मार्ग रोज्न थालेका छन्। शनिबार मात्रै कम्तीमा तीन जहाज उक्त मार्गबाट फर्किएको अन्तर्राष्ट्रिय सुरक्षा परामर्श संस्थाहरूले उल्लेख गरेका छन्। केही जहाजहरूले इरानी सुरक्षा निकायसँग सम्बन्धित भनिएको रेडियो सन्देश प्राप्त गरेको र जलमार्ग बन्द हुन सक्ने चेतावनी दिइएको दाबी पनि गरिएको छ।
युद्ध जोखिम बढेसँगै तेल, अन्नलगायत ढुवानी हुने कार्गो बीमासमेत पुनःसम्झौता गर्ने तयारी भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस