Like us!
Follow us!
Connect us!
Watch us!

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो !

अर्थ संसार संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १७ : ३९ मा प्रकाशित

धरहरासँगै पुरिएकी प्रशंसा : जसका लागि भूकम्प भाग्य बनेर आयो !

स्याङ्जाबाट काठमाण्डौ घुम्न आएकी दिदीलाई डूलाउन धरहरा पुगेकी प्रशंसा श्रेष्ठलाई आफ्नो कहालीलाग्दो विगत कुनै खराब सपना झै लाग्छ । दिदीसँगै धरहराको नवौं तलामा पुगेर फलामको रेलिङमा हात परेकै बेलादेखि भूकम्पले पिङ झै हल्लाएको र क्षणभरमै दिदी गुमाई आफू पनि मृत्युको मुखमा पुगेको त्यो पल हरेक वर्षको भूकम्प दिवसको दिन ताजा बनेर आउँछ । 

दिदीबहिनी रमाइलो गर्दै, जिस्किदै धरहराका सिढीहरु चढेको, नवौं तलामा पुगेर काठमाण्डौलाई नियालेको, मोवाइलबाट एकअर्काको फोटो खिचेको र त्यही बेला एकाएक भूकम्प आई सबै बर्बाद भएको क्षणको विषयमा कुरा गर्दा अहिले पनि प्रशंसाको आँखा रसाउँछ, मुटुमा गाँठो पर्छ, दिदीको सम्झना ताजा बनेर आउँछ । 

उनै प्रशंसा श्रेष्ठ, जो ११ कक्षाको बोर्ड परीक्षाको अन्तिम तयारी गरिरहेकै बेला दिदीसँग धरहरा चढ्न सुन्धारा पुगेकी थिइन्, जतिबेला उनीसहित कयौं व्यक्ति धरहरा भत्किँदा त्यहाँको भग्नावशेषमा पुरिएका थिए । त्यसरी पुरिएकामा बाँचेका सीमितमध्येकी एक पात्र हुन् प्रशंसा । 

त्यसबेला प्रशंसा आमासँग ललितपुरस्थित डेरामा बस्ने गर्थिन् । स्थायी ठेगाना स्याङ्जाको पुतलीबजार भए पनि प्रशंसाकै पढाईका लागि उनीहरु काठमाण्डौ सिफ्ट भएका थिए । भूकम्प आउँदा काठमाण्डौ आएको १ वर्ष मात्र भएको थियो । 

भूकम्पको बेला भीमसेन स्तम्भ धरहरा भत्कियो र सबैभन्दा माथिल्लो तलामा रेलिङ समातेर बसेकी प्रशंसा समेत भग्नावशेषले थिचिइन् । उनकी दिदीको घटनास्थलमै मृत्यु भयो भने उनलाई भने फलामको रेलिङले थिचेर खुट्टामा निकै गम्भीर असर पर्यो । खुट्टा ठाउँ ठाउँमा भाँचिएर र रक्तश्राव भएर घटनालगत्तै उनी बेहोस भइन् । उद्धारकर्मीले उद्धार गरेर नर्भिक अस्पताल पुर्याए । बाँच्ने संभावना निकै कम भएकी प्रशंसाले नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापनको समेत अनपेक्षित साथ पाउँदा नयाँ जीवन पाइन् । 

नर्भिक अस्पतालको बेडमा पुगेकै कारण भूकम्प प्रशंसाको जीवन र पढाईका लागि निकै ठूलो टर्निङ प्वाइन्ट बनिदियो । ‘भूकम्पले मेरी दिदीलाई लग्यो । तर मेरो लागि भने भूकम्प भाग्य बनेर आयो ।’ प्रशंसाले दिदीको यादले रसाएका आँखा पुछ्दै भनिन्–‘भूकम्पकै कारण मेरो जीवनमा नसोचेको परिवर्तन भयो । आज मेरो सपना पूरा हुँदैछ, म एउटा सक्षम नारी बन्दैछु ।’ 

धराहरामा परेर पनि बाँचेकी प्रशंसा अस्पतालको शैयामा केही आराम गरिरहँदा उनलाई भेट्न नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी पुगेका थिए । त्यहाँ पुगेर उनले प्रशंसाको उपचारमा लाग्ने सबै खर्च अस्पतालले व्यहोर्ने घोषणा गरेका थिए । त्यति मात्र होइन, उनले अस्पतालको शैयामा छटपटाइरहेकी प्रशंसालाई उनको सपनाको बारेमा सोधेका थिए । जवाफमा प्रशंसाले भनिन्–‘बिएसी नर्सिङ पढ्ने मेरो ठूलो सपना छ ।’ 

चौधरीले सोही बेला प्रशंसाको सपना नर्भिकले पूरा गरिदिने वचन दिएका थिए । उनले वचन दिएजस्तै अहिले प्रशंसा सानेपाको ललितपुर नर्सिङ क्याम्पसमा बिएसी नर्सिङ पढिरहेकी छिन् । उनको पढाईको पूरा प्रायोजन नर्भिक अस्पतालले गरिदिएको छ। अहिले प्रशंसाको बिएसी नर्सिङको तेश्रो वर्षको बोर्ड परीक्षाको तयारी चलिरहेको छ । परीक्षाकै तयारीबीच कुराकानी गर्न राजी भएकी प्रशंसाले भनिन्–‘भूकम्पपछि म उपचारका लागि नर्भिक पुग्नु नै मेरो भाग्योदय हुनु रहेछ । बसन्त चौधरीले मेरो सपना पूरा गरिदिनुभयो ।’ 


नर्भिकले बिएसी नर्सिङको पढाईका लागि प्रशंसालाई फूल स्कलरसीपको व्यवस्था मात्र गरिदिएन, रेलिङले थिचेर जीर्ण बनेको उनको खुट्टा समेत ठीक पारिदि यो । खुट्टा ठीक पार्नैका लागि विदेशबाट सिनियर डाक्टर र अत्याधुनिक उपकरण र प्रविधि समेत भित्र्याइयो । प्रशंसाले उपचारकै लागि नर्भिक अस्पतालमा साढे ४ महिनाभन्दा बढी  भर्ना भई बस्नु परेको थियो । सो क्रममा नर्भिक अस्पतालमा उनको उपचारका क्रममा लागेको खर्च समेत सबै मिनाहा गरिएको थियो । 

‘नर्भिकमा साढे ४ महिना बढी बस्दा मेरो उपचारमा लाखौं खर्च भयो होला, तर त्यो सबै मिनाहा गरिदिनुभयो ।’ प्रशंसाले खुशी हुँदै भनिन्–‘विदेशी डाक्टर नआउनुभएको थियो भने मेरो एउटा खुट्टा छोटो हुने रहेछ, धन्न म भाग्यमानी रहेछु।’ 
अहिले उनको खुट्टा पहिला झै ठीक भएको छ । नर्सिङ पेशामा आबद्ध भएपछि धेरै लामो समयसम्म उभिनुपर्दा खुट्टाले साथ नदेला कि भन्ने चिन्ता उनमा थियो । तर, राम्रो उपचार भएका कारण अहिले त्यस्तो कुनै समस्या छैन । उनी लामै यात्रा पनि पैदल नै गर्न सक्छिन्, पहिलाको जस्तै ।

प्रशंसाका अनुसार पढाईपछि उनी सेवा गर्न नर्भिकमै आउनेछिन् । आफूमा पनि समस्यामा परेकाहरुलाई सेवा गर्ने ठूलो सपना रहेको उनले सुनाइन् । 

पढाईकै व्यस्तताका बीच आफूले अस्पतालबाट डिस्चार्ज भएपछि अहिलेसम्म आफ्नो जीवन सुधारिदिने बसन्त चौधरीलाई भेट्न नसकेकोमा आफूलाई ग्लानी भएको बताइन् । ‘मैले पहिल्यै उहाँलाई भेट्नुपथ्र्यो, तर पढाईमा व्यस्त हुँदा भेट्ने अवसर जुरेन ।’ उनले भनिन्–‘तर अब चाँडै भेट होस् भन्ने कामना गर्छु । म उहाँलाई चाँडै भेट्न चाहन्छु ।’ 

फेरि धरहरा चढ्ने आँट छैन

प्रशंसाले सामाजिक सञ्जाल, विभिन्न मिडियाका माध्यमहरुबाट भत्किएको धरहरा बनेको सुनिन् । प्रधानमन्त्रीले धरहरा उद्घाटन गरेको समेत उनलाई थाहा छ । धरहरा उद्घाटनमा उनलाई पनि सरकारी मान्छेले बोलाउलान् कि भन्ने डर थियो, धन्न निमन्त्रणा नै आएन र ढुक्कले घरमै बसेर टिभी स्क्रीनमा उद्घाटनको दृश्य हेरिन् । उनमा अझै पनि धरहराको नाम सुन्ने बित्तिकै उनमा डर पैदा हुन्छ । ‘सायद म जीवनभर धरहरा चढ्न सक्दिँन होला ।’ उनले भनिन्–‘फेरि धरहरा जान त के, सुन्धारा आसपास पुग्नै पनि आँट आइरहेको छैन ।’
उनले धरहरालाई पहिलाभन्दा अझ राम्रो, व्यवस्थित र घुम्न लायक बनाइदिएकोमा नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएकी छिन् ।

6087fc88c793b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको