Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा चम्किँदै सेयर बजार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १५ : २३ मा प्रकाशित

निषेधाज्ञामा चम्किँदै सेयर बजार, परिसूचक र कारोबार रकम दुवैमा उछाल

आज आइतबार सेयर बजारले नयाँ रेकर्ड राखेको छ । सेयर बजारले ठिक एक महिनापछि नयाँ रेकर्ड राखेको हो । आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले बढेर २७३१.२९ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि वैशाख २ गते २७३५.४६ विन्दुमा पुगेर बजारले नयाँ रेकर्ड राखेको थियो । आज नेप्से २.०२ प्रतिशतले बढेको हो । त्यसैगरी, सेन्सेटिभ परिसूचक ८.६४ अंकले बढेर ४८८.१४ मा पुगेको छ । 

आज कारोबार रकम पनि बढेको छ । आज कूल २१४ कम्पनीको २ करोड ५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २ करोड ६६ लाख २८ हजार ११६  रुपैयाँको कारोबार भएको छ । लामो समयपछि १० अर्बभन्दा बढीको कारोबार भएको हो । बजारमा सबैभन्दा धेरै रकम बराबरको कारोबार गत माघ २५ गते भएको थियो । त्यसबेला बजारले १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार गरी रेकर्ड राखेको थियो । त्यसपछि घट्दै ३ अर्बमा पुगेको बजारमा पुनः उत्साह देखिन थालेको छ । यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ त्यसैले अन्यत्र लगानीका पातहरु बन्द छन् जसले गर्दा सेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएको विश्लेषकहरु बताउँछन् ।

आज १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर बढेको छ । आज एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रुरु जलविद्युत परियोजना लिमितेको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीले कम्पनीले चैतमा मात्र आईपीओ निष्काशन गरेको थियो । कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर (आईपीओ) वैशाख १९ गते, आइतबार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको थियाे ।

त्यसैगरी, अन्य अन्य ७ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरै वृद्धि भएको छ ।  ९ प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा शिखर इन्स्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशालबजार कम्पनी रहेका छन् ।

त्यस्तै आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेको छ । । कम्पनीले ८२ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी क्रमशः शिखर इन्स्योरेन्स, एनसीसी बैंक, आइएमई जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर कम्पनी लगायतले सर्वाधिक कारोबार गरेका छन् ।

यता युनियन हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०५ प्रतिशतले घटेर ६१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो लिमिटेड एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको