Like us!
Follow us!
Connect us!
Watch us!

खोप किन्न दुई पालिकाले मागे मन्त्रालयसँग अनुमति, विकास बजेट कटौती गरेर पनि खरिद गरिने

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ०९ : १४ मा प्रकाशित

खोप किन्न दुई पालिकाले मागे मन्त्रालयसँग अनुमति, विकास बजेट कटौती गरेर पनि खरिद गरिने

सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो ।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरेका छन् । 

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताए । “स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौँ, त्यसका लागि अनुमति दिओस्”, रानाले भने । 

गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । “सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौँ”, अधिकारीले भने । 

सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताए । विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । “जनता बचेनन् भने विकासको के अर्थ रहन्छ, अहिले बाटो हिँड्नै पाएका छैनन् मान्छे, घरमा थुनिएर बस्नुपरेको छ”, उनले भने, “पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो ।” उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिनेछ । 

सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ । नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

“कोभिड–१९ को सङ्क्रमण विभिन्न भेरिएन्टमा पटक–पटक महामारीको रूपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको कोभिडविरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन गर्यो”, न्यौपानेले भने, “तथापि यो खोप आम नागरिकको पहुँचमा सहजरूपमा पुगिसकेको छैन ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको