नेपाल धितोपत्र बोर्डमा लामो समयदेखिको आन्दोलन स्थगित हुने भएको छ । आइतबार साँझ बस्ने बोर्डको बैठकले अर्थमन्त्रालयले दिएको निर्देशन सम्बन्धमा कमिटी गठन गर्ने सहमति भएसँगै पेन डाउन स्थगित भएको हो ।
अर्थ मन्त्रालयले माग सबाेधन गर्ने प्रतिबद्धता पछि आफूहरु काममा फर्किन तयार भएकाे धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुङ्गानाले बताए।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा अर्थ मन्त्रालयका प्रतिनिधि उत्तर कुमार खत्रीले आज आन्दोलनरत कर्मचारीसित वार्ता गरेका थिए । उक्त वार्तामा खत्रीले अर्थ मन्त्रालयको निर्देशनका सम्बन्धमा एक कमिटी गठन गर्ने उक्त कमिटीले दिएको रिपोर्ट अनुसार अघि बढ्ने प्रस्ताव गरेका थिए । त्यसका अतिरिक्त कर्मचारीले पाउँदै आएको सेवा सुबोधमा कटौती नहुने गरेर नियमावली संशोधन गरिदिने समेत आश्वासन दिएको नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका सचिव अशोक कुमार विष्टले जानकारी दिए । उनले आज बस्ने बाेर्डकाे बैठक पछि आन्दाेलन स्थगित गर्ने सहमति भएकाे छ ।
मन्त्रालयका प्रतिनिधि खत्रीले कार्तिक मसान्तसम्ममा निकास दिने बचन दिएको सेवोन स्रोतले जनाएको छ । मन्त्रालयको प्रतिबद्धता पछि आन्दोलनका कार्यक्रम स्थगित गरेर काममा फर्किने सहमत भएको बताइएको छ । बोर्डले गठन गर्ने समितिले ३ दिन भित्र सुझाब सहितको प्रतिवेदन बुझाउने समय पाउने छ ।
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न गत असोज २ गते निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारीले ४८ दिन देखि निरन्तर विरोध गरिरहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस