Like us!
Follow us!
Connect us!
Watch us!

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १८ : ४७ मा प्रकाशित

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा

शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहनुभएका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाउनुभयो र भन्नुभयो, ‘‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।

यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताउनुभएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।

श्यामलाल मात्रै हैन आर्थिक वर्ष २०७८/७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् ।

मासिक तीन हजारका दरले भत्ता बुझिरहनुभएका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन । सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाउनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी हुनुन्थ्यो । मासिक ३ हजार रुपैयाँ बुझ्दै आउनुभएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैले किन्न पाउने भएँ भन्दै हुनुहुन्थ्यो ।

‘‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई ।’’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भन्नुभयो । विसं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।

बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको