Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १० : ३४ मा प्रकाशित

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।

बजारसम्म तरकारी पुर्याउन नसक्दा र पुर्याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्माले बताए । सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ ।

शर्माले भने, “बजार सबै बन्द छन्, बजारमा भाडामा बस्नेहरु पनि सबै गाउँ उक्लिएका छन्, को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन्”, उनले भने। गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्याएको उनको भनाइ छ । यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उनले बताए ।

त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि । कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ । “दश रोपनीमा लगाएको मुला, काँक्रो, धनियाँ, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएको छ”, कार्कीले भने  “गत वर्ष लकडाउन भए पनि रु चार लाख आम्दानी भएको थियो, तर यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।”

निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको मङ्गला गाउँपालिकाका अर्का कृषक टेकनाथ सापकोटाले भने।  उनका अनुसार सिमी, बन्दा, धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् । आधाजति तरकारी पशुलाई खुवाइसकिएको र आधा बारीमै कुहेर खेरजाने अवस्थामा पुगेका छन् ।

तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान थालेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताए । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक रु १० करोडदेखि रु १६ करोडसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको