Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंकः आम्दानीमा प्रगति ,के फर्काउन सक्ला लगानीकर्ताको गुमेको उत्साह ?

कृष्ण भट्टराई

मंगलबार, १८ जेठ २०७८, ०७ : १० मा प्रकाशित

सांग्रिला विकास बैंकः आम्दानीमा प्रगति ,के फर्काउन सक्ला लगानीकर्ताको गुमेको उत्साह ?

तत्कालिन दुई क्षेत्रिय बैंकहरु बागेश्वरी विकास बैंक र सांग्रिला विकास बैक बीचमा संवत् २०७१ असार २९ गते १ः१ को स्वाप रेसियोमा मर्जर भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा सांग्रिला विकास बैंकको जन्म भएको हो । 

काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यलय रहेको बैंकको  देशभर ९१ वटा शाखा कार्यलयहरु छन् । बैंकले ३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले २०७४ सालमा तत्कालीन कसमस विकास बैंकलाई प्राप्ती गरेपछि वित्तीय रुपमा थप मजबुत बनेको छ। 
बैंकले २०७२ साल फागुनमा मा ४ः१ को अनुपातमा र २०७४ पुस महिनामा गरि दुईपटक हकप्रद सेयर निष्काशन गरेको थियो । 

बैंकको वित्तीय अबस्था

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रिला विकास बैंकको खूद नाफा २२ करोड ४४ लाखमा सीमित रहेकोमा यो यो बर्षको तेस्रो त्रैमासमा बढेर ३५ करोड १६ लाख नाफा कमाएको छ ।  समीक्षा अवधिका लागि सांग्रीलाको वितरणयोग्य मुनाफा २४ करोड २८ लाखभन्दा बढी रहेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४७ करोडमाथि पुगेको छ।

कोभिड प्रभावकै बीच पनि बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खूद ब्याज आम्दानी केही बढेर यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले रिटेन अर्निङतर्फ १५३.७३ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ३४ लाखमा सीमित भएकोमा यो वर्ष बढेर ३८ करोड ९४ लाख माथिको उचाई चुमेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनतर्फ पनि उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको देखिन्छ ।

खूद नाफा उत्साहजनक ढंगले बढाएको बैंकको वार्षिक प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा सांग्रिलाको प्रतिसेयर आम्दानी (इपीएस) ५६.७० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.८९ प्रतिशत, कस्ट अफ फण्ड ६.२७ प्रतिशत, सीडी रेसियो ७७.५४ प्रतिशत, बेस रेट ८.४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३९.९५ रुपैयाँ, पीई अनुपात १३.१८ गुणा, क्यापिटल एडेक्वेसी रेसियो ११.७२ प्रतिशत तथा लिक्वीडीटी रेसियो २५.१० प्रतिशत रहेको छ ।

सेयर बजारमा सांग्रिला विकास बैंक

हाल सांग्रिला विकास बैंकका २ करोड ७३ लाख ६९ हजार ७ सय २४ कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको सेयर एक बर्षयता अधिकतम ३५२ रूपैयाँ र न्युनतम १३७ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १२० दिनको औषत मूल्य २०१.१८ रूपैयाँ रहेको छ । भोलुमको आधारमा हेर्दा पनि बैंक दैनिक राम्रो संख्यामा कारोबार हुने कम्पनीमा पर्दै आएको छ ।

बैंकको मूल्यलाइ एक छिन नियालौं । केहि दिन अघिसम्म पनि २०० रुपैयाँ प्रतिकित्ताको आसपासमा रहेको बैंकको सेयर मूल्य पछिल्ला केहि दिनयता निरन्तर उकालो लागिरहेको देखिन्छ । कम्पनीको सेयरको अहिलेसम्मकै अधिकमूल्य ३५२ रुपैयाँ अनुसार हेर्दा कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २०.५४ छ । यो भनेको कम्पनीमा लगानी गर्न त्यति जोखिम छैन भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि उत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । 

कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) निकाल्न कम्पनीको हाल कायम सेयर मूल्यलाई कम्पनीको हाल कायम प्रतिसेयर आम्दानीले भाग गर्ने गरिन्छ ।

लाभांशको इतिहास

बैंकको लाभांशको इतिहास हेर्ने हो भने बैंकको लाभांशलाई त्यति उत्साहजनक भने मान्न सकिन्न । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो जसमा ५ प्रतिशत बोनश सेयरको हिस्सा रहेको थियो । 

बैंकले हालसम्ममा सबैभन्दा बढि आर्थिक बर्ष २०७० ७१ मा २१।०३ प्रतिशत लाभांश वितरण गरेको थियो भने सबैभन्दा कम अघिल्लो आर्थिक बर्षमा गरेको हो । १० बर्षको लाभांश इतिहासमा बैंकले ६ बर्ष बोनश सेयर वितरण गरेको छ भने बाँकी ४ बर्ष नगद लाभांश मात्र वितरण गरेको देखिन्छ । 

बैंकको ब्यवस्थापन 

सांग्रिला विकास बैंकको ब्यवस्थापलाई हेरौं । कम्पनीको समग्र परफरमेन्स त्यसको व्यस्थापबाट प्रभावित हुने गर्दछ । कतिपय अवस्थामा एकदमै नराम्रो वित्तीय अवस्थामा रहेको कम्पनीलाई राम्रो व्यवस्थापनले उचाइमा पुर्याएको देखिन्छ भने कतिपय राम्रा कम्पनीहरुको पनि व्यवस्थापन कमजोर हुँदा बर्बाद भएका उदाहरणहरु पनि नेपालमा धेरै छन् ।

त्यसकारण पनि कुनै पनि कम्पनीको आधारभूत बिश्लेषणलाई हेर्दा कम्पनीको व्यवस्थापनलाई महत्वका साथ हेर्ने गरिन्छ । 

हाल बैंकको अध्यक्षमा अच्युतप्रसाद प्रसाई रहेका छन् । बैंकको सञ्चालक समितिमा शुशिलकुमार बानियाँ, नरेशमान तुलाधर, गंगसागर ढकाल, लिसा सेरचन र राजुनाथ खनाल रहेका छन् । 

हाल सांग्रिला विकास बैंकको व्यवस्थापकीय नेतृत्व (सीईओ) मा सुयोग श्रेष्ठ रहेका छन् । उनले आफ्नो लामो बैकिङ्ग करियरमा धेरै बैंकहरुमा उच्च पदमा रहि कार्य सम्पादन गरिसकेका छन् । श्रेष्ठले हिलालयन बैंकको जुनियर अफिसरबाट आफ्नो बैकिङ्ग करियर सुरु गरेका थिए  ।
विगतमा एस डेभलपमेन्ट बैंकको सिईओका रुपमा कार्य सम्पादन गरिसकेका श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एसोसियसनका बर्तमान उपाध्यक्ष पनि हुन् । 

भारतबाट चार्टर्ड एकाउन्टेन्ट पढेका श्रेष्ठले व्यवस्थापनमा स्नातक समेत गरेका छन् । 

सन् २०१८ मा ४ बर्षे कार्यकालका लागि सिईओमा नियुक्त भएका श्रेष्ठको यसै बर्ष कार्यकाल सकिदैछ । 

बैंकको समग्र अबस्था हेर्दा  यसमा गरिने लगानी दीर्घकालीन रूपमा जोखिपूर्ण देखिदैन । बैंकको  बजार मूल्य बढेर हुने मुनाफा त छँदैछ, यसले हरेक बर्ष दिने लाभांश समेत ठीकै देखिन्छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी १७.९९ रूपैयाँ रहेकाले यस बर्षको लाभांशसमेत अघिल्लो बर्षको तुलनामा आकर्षक हुने देखिन्छ । अहिले बजारमा यो बैंकको भन्दा पनि कम लाभांश दिएका कतिपय कम्पनीहरूको मूल्य योभन्दा बढी छ । यो बैंकको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लगानी त्यति जोखिमपूर्ण भने देखिदैन । 

नोटः हामिले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको