Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएनन् बिहे भोज, सङ्क्रमित छ्याप्छ्याप्ती

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १४ : ३७ मा प्रकाशित

रोकिएनन् बिहे भोज, सङ्क्रमित छ्याप्छ्याप्ती

बागलुङ जिल्लाभर निशेधाज्ञा जारी भएको भएपनि लगनको महिना भएकाले बिबाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्यहरु रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यहरुमा सहभागी हुन प्रशासनले आग्रह गरेको भएपनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँहरुमा यस्ता कार्य पूर्ववत् रुपमा चलिरहेका छन् ।

बागलुङ जिल्ला सदरमुकाममै केही दिनअघि विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यति धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउँछन् ।

गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यसअघि जिल्लाको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो । ‘‘सात जनाभन्दा बढी जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने ‘‘कसैले नियम मिचे प्रशासनलाई खबर गरौं ।’’

बागलुङमा आजसम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं. १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं. ११ रायडाँडा, वडा नं. ५ मालिका र वडा नं. ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको