अर्थ संसार, काठमाडौँ– म्याग्दीका जनप्रतिनिधि, राजनीतिक दल, निजी र प्रशासनिक क्षेत्रले जलविद्युत् विकासका लागि सहमतिको वातावरण बनाउने साझा प्रतिबद्धता जनाएका छन् ।
 
 नर्वेजियन राजदूतावास र नीति फाउन्डेसनको सहयोगमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को आयोजनामा शनिबार बेनीमा सम्पन्न जलविद्युत् विकासमा सहमति र जलविद्युत् समाचार लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
 
 म्याग्दीको आर्थिक समृद्धिको प्रमुख आधार मानिएको जलविद्युत्मा लगानी भित्र्याउन र आयोजना निर्माणलाई सहज बनाउने सहमतिको वातावरण बनाउने प्रतिबद्धता जनाएका सरोकारवालाले जिल्लामा लामो समयदेखि निर्माणको प्रक्रियामा रहेका आयोजनालाई अघि बढाउन प्रवद्र्धकहरूसँग आग्रह गरेका छन् ।
 
जलविद्युत् आयोजनाको विकासमा सघाउ पुग्ने किसिमले सडक, प्रसारण लाइनलगायत पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका उनीहरूले वर्षौंअघि सर्वेक्षण र निर्माणका लागि अनुमति पाएका आयोजना अघि बढ्न नसकेकोप्रति दुःख व्यक्त गर्दै जलविद्युत्मा स्थानीयवासीलाई रोजगारी तथा लगानीको अवसर दिन अनुरोध गरेका थिए ।
 
जिल्ला समन्वय समितिका अनुसार म्याग्दीमा एक हजार २०० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना भए पनि हाल दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजनामात्र सञ्चालनमा छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पाँच मेगावाटको घलेम्दी, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण सुरु भएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणले आठ वर्षअघि निर्माण सुरु गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले गति लिन सकेको छैन । जलविद्युत्मा लगानी भित्र्याउनका लागि तत्कालीन जिविसको संयोजनमा चार वर्षअघि म्याग्दी घोषणापत्रसमेत जारी भएको थियो ।
कार्यक्रममा नेपालमा जलविद्युत्को वर्तमान अवस्था, सम्भावना र चुनौतीको विषयमा सरकारी अधिकारी, प्रवद्र्धक, राजनीतिकर्मी र पत्रकारबीच छलफल भएको थियो ।
 
सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेपाली काँग्रेसकी अमृतादेवी बानिया, चन्द्रबहादुर क्षेत्री, नेकपा (एमाले)का प्रतिनिधि तथा बेनपा–४ का वडाध्यक्ष गोविन्द पौडेल, नेकपा (माओवादी केन्द्र)का गोविन्द पौडेल (प्रविण), राप्रपाका वीरबहादुर थापा क्षेत्री र गङ्गाबहादुर दर्जीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 
इपानका पूर्व अध्यक्ष खड्गबहादुर विष्ट, कोषाध्यक्ष आनन्द चौधरी, सदस्य भरत खड्का, विद्युत् विकास विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्य, पूर्व महानिर्देशक डिबी सिंहलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस