Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको लगानी २५ प्रतिशतले बढ्यो, ओडी तथा मार्जिन लोनमा वृद्धिदर उच्च

पत्रपत्रिका

आइतबार, ०३ साउन २०७८, ०७ : ४३ मा प्रकाशित

बैंकहरुको लगानी २५ प्रतिशतले बढ्यो, ओडी तथा मार्जिन लोनमा वृद्धिदर उच्च

चालु आर्थिक वर्षको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा २५ प्रतिशतले वृद्धि भएको छ । कोरोनाको महामारीका कारण नयाँ व्यवसाय थप नभएपनि पुरानै व्यवसाय सञ्चालनका लागि थप कर्जा वृद्धि उच्च भएको हो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा अनुत्पादक तथा अल्पकालिन क्षेत्रमा बढी भएको छ । ओभरडाफ्ट तथा मार्जिन प्रकृतिको क्षेत्रमा कर्जाको वृद्धिदर उच्च रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।

केन्द्रीय बैंकका अनुसार जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७ ७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये क्षेत्रगत रुपमा सबैभन्दा बढी कृषि क्षेत्रमा बढेको छ । जेठमा बैंकहरुको कृषि कर्जा ४०.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले कृषि कर्जाको सीमा वृद्धि गर्नुका साथै व्याज सहुलियतको समेत व्यवस्था गरेकाले कृषि लगानी विस्तार भएको हो ।

यसैगरी औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये सबैभन्दा बढी मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले बढेको छ । निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी प्रभावित हुँदा पनि सेयर लगानी भने बढिरहेको छ । जसका कारण बैंकहरुको समेत यस क्षेत्रमा कर्जा बढेको देखिन्छ । 

यस्तै बैंकको आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा ११.९ प्रतिशतले र आयात कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको