Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा पर्याप्त तरलताः आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

पत्रपत्रिका

मंगलबार, ०५ साउन २०७८, ०७ : २५ मा प्रकाशित

बजारमा पर्याप्त तरलताः आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

नयाँ आर्थिक वर्ष शुरू भएसँगै बैंकहरूले आआफ्नो बैंकको कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा पर्याप्त तरलता भए पनि आधार दरमा दबाब परेको छ । साउनमा केही बैैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटबढ गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये बचत र मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सिभिल बैंकले दिएको छ । बैंकले साउनमा साधारण बचतमा न्यूनतम ४ दशमलव शून्य १ देखि अधिकतम ६ दशमलव शून्य १ प्रतिशत र मुद्दतीमा न्यूनतम ७ दशमलव शून्य १ देखि अधिकतम ८ दशमलव ७१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नेपाल क्रेडिट एन्ड कमर्श, नेपाल एसबीआई र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेका छन् । यी बैंकको बचतको ब्याजदर भने क्रमशः ५ प्रतिशत, ३ दशमलव १६ र ५ प्रतिशत रहेको छ ।

मुद्दती निक्षेपमा ७ प्रशितमाथि ७ दशमलव ७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेमा प्राइम, कुमारी, एनआईसी एशिया, सिटिजन्स, एनएमबी, सनराइज, कृषि विकास, नेपाल बंगलादेश, मेगा र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । बाँकी नौओटा बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७ प्रतिशत निर्धारण गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, लक्ष्मी, सिद्धार्थ, प्रभु बैंक र बैंक अफ काठमाडौंले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । सानिमा र नबिल बैंकको बैंकको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम छ । सानिमा बैंकले अधिकतम ६ दशमलव ८५ र नबिलले ५ दशमलव ५१ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन् ।

सानिमा बैंकले असारमा २ दशमलव शून्य ५ देखि ४ दशमलव शून्य ५ प्रतिशतसम्म बचतमा ब्याज दिएको थियो । बैंकले गत असारभन्दा शून्य दशमलव ३० प्रतिशत विन्दुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर थपेर बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । उनका अनुसार अहिले बैंकको लगानीयोग्य पूँजी खुकुलो अर्थात् कर्जा–पूँजी निक्षेप अनुपात ९सीसीडी० ८० प्रतिशत रहेको छ ।

सामान्यतया बजारमा लगानीयोग्य पूँजीको अभाव भएमा बैंकहरूले स्रोत जुटाउन निक्षेपको ब्याजदर बढाएर स्रोत संकलनमा जोड दिने गर्छन् । तर, यतिबेला अधिकांश बैंकको सीसीडी सहज भए पनि निक्षेपको ब्याजदर बढाएर थप निक्षेप संकलन गर्ने रणनीति बनाएको हुनसक्ने संघका अध्यक्ष दाहालको भनाइ छ । ‘यतिबेला प्रायः बैंकमा तरलता सहज छ । तर, बैंकले ब्याजदर बढाउने वा नबढाउने भन्नेमा आआफ्नो रणनीति हुनसक्छ,’ उनले अभियानसँग भने ।

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार पछिल्लो समय बजारमा १ खर्ब ७ अर्ब अधिक तरलता कायम छ । ‘यतिबेला बजारमा राजस्वको पैसा बैंकहरूमा गयो । विकास खर्च पनि भयो । यसकारणले तरलता बढेको हो,’ उनले भने ।

असारमै निक्षेपको ब्याज बढाएका अधिकांश बैंकले साउनमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएका छन् । यसो गर्नेमा प्राइम, सेन्चुरी कमर्शियल, नेपाल बैंक, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक रहेका छन् ।

बैंकहरूको कर्जाको ब्याजदर निक्षेपको ब्याजदरको आधारमा कायम हुन्छ । गत असारमा अधिकांश बैंकहरूको निक्षेपको ब्याजदर धेरै भएकाले चौथो त्रैमास अर्थात् वार्षिक प्रतिवेदनमा आधार दर बढ्छ । त्यसैले अब कर्जाको ब्याजसमेत बढ्ने बैंकर्श संघका अध्यक्ष दाहालले बताए ।

वाणिज्य बैंकहरूले हालसम्म कर्जाको प्रकृतिअनुसार अधिकतम साढे १४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । प्रायः बैंकहरूले व्यक्तिगत कर्जामा अधिकतम १४ दशमलव ६३ प्रतिशतसम्म ब्याजदर लिएका छन् । बैंकहरूले लिने ऋणको ब्याज आधार दरले निर्धारण गर्ने गर्छ । बैंकको आधार दर जति कम भयो त्यति सस्तोमा कर्जा पाइनसक्छ । तर, बैंकले आधारदरमा कति प्रिमियम थपेको छ भन्नेमा भर पर्छ ।

सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको देखिन्छ । यसको आधार दर ५ दशमलव ३३ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको ७ दशमलव ८२ प्रतिशत रहेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको