Like us!
Follow us!
Connect us!
Watch us!

सोमबारदेखि मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

अर्थ संसार

आइतबार, १० साउन २०७८, १५ : ४१ मा प्रकाशित

सोमबारदेखि मनसुन सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका छन् ।

“आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो”, मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ ।

सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । – (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको