नेपाल टेलिकमले आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।
टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका ग्राहकलाई वितरण गरिसकेको छ । यसैगरी २०७८ वैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरेको छ ।
नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार गरिसकेको छ ।
मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस