Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघ र सीप कार्यक्रमबीच रोजगारीका लागि सीप प्रवर्द्धन गर्न सम्झाैता

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १२ : २१ मा प्रकाशित

परिसंघ र सीप कार्यक्रमबीच रोजगारीका लागि सीप प्रवर्द्धन गर्न सम्झाैता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम - सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले हस्ताक्षर गरेका छन् । 

यस समझदारी अनुसार प्रदेश नं २ र लुम्बिनी प्रदेशमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पर्यटन, सूचना प्रविधि र निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि परिसंघ र सीप परियोजनाबीच सहकार्य हुनेछ ।

यस समझदारीपश्चात् रोजगारी सिर्जनाका लागि नेपाल सरकारका विभिन्न निकायसँग परिसंघ र सीपले साझा पैरवी गर्नेछन्। परिसंघले अघि बढाएको 'मेक इन नेपाल – स्वदेशी' अभियानलाई सहयोग पुग्ने गरी सीपयुक्त जनशक्ति विकास गर्ने र एकदेखी तीन महिनाको कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य पनि राखिएका छन्। 

कार्यक्रममा उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्यले सरकारले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम अघि बढाएको भन्दै त्यसलाई कार्यान्वयन गर्न यो समझदारी महत्त्वपूर्ण हुने बताएका छन् । 

सचिव पोखरेलले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार, जग्गा व्यवस्थापन, वित्तीय साधनको उपलब्धता र पूर्वाधार विकासलाई ध्यान दिएर काम गरिरहेको बताए । सरकारले हेरक क्षेत्रको अनुसन्धान र विकास योजना अघि बढाएको भन्दै निजी क्षेत्र पनि त्यसको अंग बन्न सक्ने बताए। 

यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगहरूका लागि आवश्यक सीपयुक्त जनशक्ति तयार गर्ने दायित्व परिसंघको भएको बताएका छन् । उनले 'मेक इन नेपाल-स्वदेशी' अभियानले वर्षेनी १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको भन्दै यस समझदारीले उक्त उद्देश्य हासिल गर्न सहयोग पुर्‍याउने बताएका छन् । 

सीप कार्यक्रम प्रमुख बलजित बोहराले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्य राखिएको बताएका छन् । उनले सीपमा आधारित रोजगारीका लागि च्यालेन्ज फन्ड र प्राविधि सहयोगमार्फत काम अघि बढ्ने जानकारी दिएका छन् ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगीकरणका लागि सीप विकासको आवश्यकता औँल्याएका छन्। यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले परिसंघले स्किल हब र स्किल एकेडेमी अघि बढाउने उद्देश्य राखिएको जानकारी गराएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको