Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले भित्र्यायो नयाँ प्रविधि, अब थोत्रा र झुत्रा नोटबाट ब्रिकेट बनाईने

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १४ : ३१ मा प्रकाशित

राष्ट्र बैंकले भित्र्यायो नयाँ प्रविधि, अब थोत्रा र झुत्रा नोटबाट ब्रिकेट बनाईने

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौता अनुसार आठ ओटा मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । उनका अनुसार सो मेशिनबाट काठमाडौंमा ब्रिकेट उत्पादन गर्न शुरु भइसकेको छ भने मंगलवारनै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ । उनका  अनुसार आगामी असोजसम्म बाँकी चार ओटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ । पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले उपकरण खरीद गरेको बैंकले बताएको छ ।

प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोटलाई टुक्र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उनले जानकारी दिएका छन् । बैंकले प्रतिवर्ष करीब ४०–४५ अर्ब रुपैयाँको नोट नष्ट गर्ने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको