मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ ।
भारतको उत्तर प्रदेश (यूपी) आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले सुप र लुम्बिनीमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको हो ।
महाशाखाले भारी वर्षा हुने स्थानको पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाको पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा भने एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राती भने देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि शनिबार प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस