अर्थ संसार, काठमाडौँ– सरकारी लगानीकै हाराहारीमा मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको निजी क्षेत्रले हालसम्म रु ६ खर्ब बराबरको लगानी गरेको छ ।
जलविद्युत उत्पादनमा सरकारलाई सघाउँदै आएको निजी क्षेत्रले हाल दर्जन बढी आयोजनामा करिब रु ६ खर्ब लगानी गरेको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न गरेर निर्माण सुरु भएका तथा निर्माणको तयारीमा रहेका २ हजार ८३८ मेगावाट क्षमताका आयोजनामा सो परिमाणको लगानी भएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) काअनुसार पछिल्लो दिनमा सरकारी लगानीकै हैसियतमा निजी क्षेत्रले पनि जलविद्युत् क्षेत्रमा लगानी गरेको छ ।
आयोजना विकास गर्न स्वदेशी पुँजीको खाँचो नभए पनि लगानी बढाउनुपर्ने तथा लगानीको विविधिकरण गरिनुपर्नेमा जोड दिदै इपानले पछिल्ला दिन लगानीका लागि सहज भएको बताएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा जडित ९२५ मेगावाट क्षमता मध्ये ४३५ मेगावाट निजी क्षेत्रले उत्पादन गरेको विद्युत् रहेको बताउनुभयो ।
निजी क्षेत्रले लगनी बढाउँदै गए पनि सरकारले उचित सहयोग नगरेको र थप सहजीकरण नगरेको गुरागाईंको भनाइ छ ।
उहाँका अनुसार हाल ५ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता(पिपिए)को पर्खाइमा रहेका छन् भने नौ हजार मेगावाट क्षमता बराबरका आयोजनाको विद्युत् विकास विभागमा आवेदन परेको छ ।
सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने घोषणा गरेको छ ।
यसले निजी क्षेत्रलाई थप उत्साहित बनाएको इपानका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टले बताउनुभयो ।
ऊर्जा मन्त्रालयमा आउने नयाँ मन्त्रीले विगतका सरकारले तयार गरेका योजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्नेमा इपानले जोड दिएको छ ।
‘एकाध वर्षअघिसम्म निजी क्षेत्र २५ मेगावाटभन्दा माथि जान सक्ने अवस्था थिएन तर पछिल्लो दिनमा ठूला ठूला आयोजना पनि अगाडि बढेका छन् ।
हाल १५७ मेगावाटका आयोजना निजी क्षेत्रले एकै पटक निर्माण गरिरहेको छ । त्यसले आयोजनामा हुने लगानीको क्षमता पनि बढेको र निजी क्षेत्र पनि थप काम गर्न प्रेरित भएको इपानको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस