Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकमा कति ओटा छन् अखबार र अनलाइन ?

अर्थ संसार

शनिबार, ०९ असोज २०७८, १२ : २० मा प्रकाशित

मुलुकमा कति ओटा छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको संख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औं वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको संख्या ७४४ रहेको उल्लेख छ ।

प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको संख्या ९३ रहेको उल्लेख छ । 

काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७/७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ ।

प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट वाग्मती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । उक्त प्रदेशमा दुई हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । 

सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौं हो । आर्थिक वर्ष २०७७/७८ सम्ममा काठमाडौं जिल्लामा दुई हजार अखबार दर्ता भएका छन् । 

काठमाडौंपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो । दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्यांकले देखाएको छ ।

उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् । 

काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो । काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दैआएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको