अर्थ संसार, काठमाडौँ– भारत सरकारको लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याश नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् ।
भारत सरकारको लगानीमा निर्माण हुन लागेको कुल ९०० मेगावाट क्षमताको सो आयोजनाको शिलान्याश प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गर्ने तयारी गरेको छ । तर शिलान्याश कहिले गर्ने भन्ने बारेमा भने समय तय भइनसकेको जनाइएको छ ।
भारत सरकार स्वामित्वको एसजेविएन अरुण थर्ड हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा संखुवासभामा आयोजनाको शिलान्यास गराउने आन्तरिक तयारी गरिरहेको जनाएको छ ।
सो अहिले प्रारम्भिक छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री देउवाले चाँडै गर्ने भारत भ्रमणका बेला मोदीले अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम तय हुने बताइएको छ ।
एसजेविएनका देशीय निर्देशक हरिराम सुवेदीले आफूले पनि भारतीय प्रधानमन्त्रीले अरुण तेस्रो उद्घाटन गर्ने सुनेको बताएका छन् । भारत सरकारको आयोजना भएकाले प्रधानमन्त्री मोदीले आयोजना शिलान्यास गर्ने सम्भावना रहेको उनको भनाइ छ ।
यस विषयमा विस्तृत जानकारी नभएको उनले बताए । उनका अनुसार आउँदो सेप्टेम्बर वा अक्टोबरमा आयोजनाको शिलान्यास हुने सम्भावना छ ।
आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । भारत निकासीका लागि अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउनेछ ।
आयोजनामा जग्गा अधिग्रहणको काम सकिएको छ र पहुँच सडक निर्माणको काम भइरहेको छ । वनको अनुमति ढिलाइले काम प्रभावित भएको सुवेदीको भनाइ छ । उनका अनुसार वनका कारण विद्युत् गृहसम्म पुग्ने सडक निर्माण प्रभावित भएको छ ।
आयोजनाको काम सुरु हुन लाग्दा पनि सरकारले वनको जग्गा उपलब्ध गराउन भएको ढिलाइले काम प्रभावित हुने देखिएको छ । हाल आयोजनाका लागि १२४ हेक्टर वनको जग्गा आवश्यक पर्ने देखिएको छ ।
आगामी २५ वर्षका लागि एसजेवीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा रु ३ खर्ब ४८ अर्ब लाभ पाउनेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस