अर्थ संसार, काठमाडौँ– कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर्ने जनाएको छ ।
कोषले तोकिएकै समयभित्र आयोजना निर्माण गर्न प्रारम्भिक कार्य सुरु गर्न लागेको हो । कुल ६८० मेगावाट क्षमताको बेतान कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न कुनै समस्या नरहेको र सबै प्रक्रिया अगाडि बढाइएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए ।
नेपालमै पहिलो पटक सञ्चयकर्ताको रगत, पसिनाको कमाईबाट निर्माण गर्न लागिएको ‘बेतान कर्णाली जलविद्युत आयोजना’ क्षेत्रीय विकासको सन्तुलनका लागि एउटा नमूना भएको उनको भनाइ छ ।
नेपालको पानी जनताको लगानी भन्ने नारालाई यो आयोजनाले सार्थक गर्न लागेको र त्यसले नेपालको दिगो आर्थिक विकासका लागि क्षेत्रीय सन्तुलन समेत मिलाउने उल्लेख गर्नुभयो ।
विशुद्ध नेपालकै प्राविधिक र लगानीबाट बन्न लागेको बेतान कर्णाली आयोजना ६ नम्वर प्रदेशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास थियो ।पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्ष्भित्र निर्माण शुरु गर्ने तयारी गरिएको छ ।
स्वदेशी लगानीमा अगाडि बढिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो दोस्रो ठूलो आयोजना हो ।नेपाली प्रविधि प्रयोग गरेर निर्माण गर्न लागिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका सञ्चयकर्ताको लगानी हुनेछ ।
कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिई जलविद्युत् आयोजनामा लगानी गर्ने योजनाअनुसार उक्त आयोजना निर्माण गर्न लागेको हो ।कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण र नेपाल विद्युत उत्पादन कम्पनीद्वारा निर्माण गर्न लागिएको उक्त आयोजनाका लागि रु ८० अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र सरकारले यस अघि नै प्रदान गरिसकेको छ ।कर्मचारीको कोष कट्टीबाट आएको रकमबाट जलविद्युत आयोजना निर्माण गर्न लागिएकोप्रति पश्चिम सुर्खेतका स्थानीय बासिन्दा हर्षित भएका छन् ।
चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।‘सर्वेक्षणका लागि सञ्चय कोषले अनुमति पाएको छ, यो खुसीको कुरा हो,’ अध्यक्ष शाहीले भने, ‘वषौंदेखि बगेर खेर गइरहेको कर्णालीबाट विद्युत् उत्पादन गरेर यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ ।’ पश्चिम सुर्खेतको विकासमा आयोजनाले महत्तवपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।
आयोजनाले सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहनेगरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना अगाडि बढाउने गरी अनुमति दिइएको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा कोषले कमाएको रु एक अर्ब ६० करोड मध्ये पहिलो चरणमा रु एक अर्ब २९ करोड सो आयोजनामा लगानी गरिनेछ ।कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोचअनुसार नै प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनामा कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैले १५ प्रतिशत सेयर राख्नेछ ।नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएको छ ।
पहिलो चरणमा रु २० अर्ब अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ ।कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडि बढाउने कोषको तयारी छ । प्रारम्भिक रुपमा अध्ययन भइसकेको आयोजनाको प्राविधिक तथा अन्य काम सँगसँगै अगाडि बढाइने भएको छ । कोषसँग हाल रु दुई खर्ब ५० अर्ब रकम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस